प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समितिले आज अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेका थिए । लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।

सभापति खरेलले निर्णय सुनाउदै भनिन, ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com