अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज, ८ असार । पर्साको वीरगञ्जबाट अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो ।

विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com