भक्तपुरमा विकासको अभियानले देशभरका जनताको अकर्षण बढ्यो : सांसद बस्नेत

भक्तपुर, ९ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउने गरी अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नगरप्रमुख बाशुदेव थापाको अध्यक्षतामा भएको नगरपालिकाको ११औं नगरसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भौतिक तथा अन्य सुविधाहरुलाई तिव्र विकास गरी सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो । वर्तमान निर्वाचित जनप्रतिनिधिहरुले उपमहानगरपालिका बनाउन आवश्यक पर्ने पूर्वाधार सडक, ढल, खानेपानी, विद्युत, खेलमैदान, स्वास्थ्य, शिक्षालगायतका अनिवार्य आवश्यकताका कुराहरुलाई विकासमा नगरपालिकाले तीन वटै तहको सरकारसँग सहकार्य गरी जनताको आधारभुत आवश्यकताका कुराहरु पुरा गर्दै उपमहानगरपालिका बनाउने गरी अगाडी बढ्नलाई सूर्यविनायक नगरपालिका तथा जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उपमहानगरपालिका बनाउन आफ्नो तथा एमालेले जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले वर्तमान पाँच दलीय गठबनधनको सरकारले भक्तपुरका अधिकांश आयोजनाहरुको बजेट कटौती गरेकाले पूर्वाधार निर्माणमा केही समस्या आउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पूर्वाधारहरुको विकासलाई विशेष ध्यान दिन आवश्यक छ । जनसंख्याको हिसावले नगरपालिकामा बसोवास गर्ने नागरिकको संख्याले उपमहानगरपालिका बन्न पुग्ने अवस्था छ । जनसंख्याको साथ साथै नगरपालिकालाई उपमहानगरपालिका बनाउन पूर्वाधार विकासहरु सडक, शिक्षा, स्वास्थ्य, खेलमैदान, खानेपानी, ढल, बसपार्क लगायतका आयोजनाहरुलाई अझै बढी तिव्रता दिनुपर्ने छ । तर संघ तथा प्रदेशमा पाँच दलीय गठबन्धनको सरकारका कारण पूर्वाधार विकासमा केही समस्या आउने देखिन्छ । भक्तपुरमा सञ्चालनमा रहेको अधिकांश आयोजनाहरुको बजेट कटौती गरिएको छ । विगतको सरकारले करोडौंको बजेट छुट्याएकोमा वर्तमान सरकारले दुई लाख, चार लाख, पाँच लाख, छ लाख बजेट पनि छुट्याएको छैन । उक्त रकमले आयोजनालाई पूर्णता दिन सम्भव छैन । तर पनि नगरपालिकाले तीन वटै तहको सरकारसँग समन्वय गरी बजेट व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि म र एमालेले जस्तोसुकै सहयोग गर्न तयार छ ।’

नगरपालिकाले आफ्नो आम्दानीका स्रोतहरुलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले नगरपालिकालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । पर्यटकीय स्थालहरुको माध्यमबाट आम्दानीको स्रोतलाई नगरपालिकाले बढाउन सक्ने उल्लेख गर्दै उहाँले सूर्यविनायक नगरपालिका विकास र समृद्धिको लागि भर्जिन ल्याण्ड भएको दावी गर्नुभयो । सवैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा जनप्रतिनिधिले चलाएको विकासको अभियानले गर्दा देशभरका जनताको अकर्षण बढेको जानकारी गराउनुभयो ।

जग्गा एकीकरण आयोजनाको माध्यमबाट आधुनिक सहरको निर्माण अहिले आवश्यकता रहेको औंल्याउँदै उहाँले भक्तपुरमा स्मार्ट सिटीको निर्माण, हनुमन्ते करिडोर, रंगशाला निर्माण लगायतको लागि ल्याण्ड पुलिङको माध्यमबाट अगाडी बढिरहेको जानकारी गराउनुभयो । भक्तपुरका जनताको जीवन स्तर उठेको उल्लेख गर्दै उहाँले आधुनिक कृषि खेतीको प्रयोगसमेत प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश उद्योग, बाणिज्य तथा आपूर्ती राज्यमन्त्री रजनी जोन्छे, बागमती प्रदेशका सांसद शसी जंग थापा, जिल्ला समन्वय समितिका प्रमुख इश्वरबहादुर थापाले नगरअधिवेशको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरुले नगरपालिकाको नीति तथा कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फबाट जस्तोसुकै सहयोग हुने प्रतिवद्दता समेत जनाउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com