गृहमन्त्रीद्वारा हजयात्रीको अन्तिम टोलीलाई विदाइ

काठमाडौँ, १० असार । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज विदाइ गरेका छन् ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले ११३ हजयात्रीलाई विदाइ गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्य शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो ।

हजयात्रीलाई विदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए ।

असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । महावाणिज्यदूतावासबाट १० जनाको स्वयंसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ । टोलीमा ८ जना डेलिगेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ । हजयात्रीहरु ३४ दिनपछि नेपाल फर्कनेछन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com