उद्योगी व्यवसायीद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

विराटनगर, १० असार । विराटनगरका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक संघर्षमा उत्रिएका छन् ।

आज विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् । विरोध र्‍याली निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि भेला भएका उद्योगी व्यवसायीले सीमित उद्योग पोस्न अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लगाए ।

नेपाल उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले अर्थमन्त्रीसँग आफूहरूले बारम्बार छलफल गरेको सुधार गर्ने भनेर आश्वासन दिएको, तर उद्योगीका माग सम्बोधन नगरिएको बताए । “उद्योग बचाउनुको साटो तीनलाई नष्ट गर्नेगरी नीति ल्याइएको छ । अर्थमन्त्रीले बारम्बार ढाँट्ने काम गर्नुभएको छ,” प्याकुरेलले भने, “हामी सिस्टमको विरोधमा छौँ । प्रवृत्तिको विरोध गरेका हौँ ।” निरन्तर सडक संघर्ष गरिरहेका उद्योगीले आइतबारबाट राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com