अध्यक्ष तिमिल्सिनाद्वारा मन्त्रीलाई सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ

काठमाडौँ, १० असार । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन ।

आजको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गरे । उनले सदनमा उपस्थित भइ आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘माननीय सदस्यहरु, हाम्रो संविधानले सरकारका मन्त्रीहरुलाई सामूहिक र व्यक्तिगत रुपमा संघीय संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरुको जिम्मेवारी हो । लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जवाफदेहिताको विशेष महत्व हुन्छ । तसर्थ म नेपाल सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत् जनताप्रति जवाफदेही बन्न रुलिङ गर्दछु ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com