राष्ट्रिय गौरवका आयोजना निर्माण, लाखौं नेपालीलाई रोजगारीको आधार : सांसद बस्नेत
असोज ३१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुले लाखौं नेपालीहरुलाई रोजगारीको वातावरण सिर्जना हुने र विदेशको मरुभूमिमा जानुपर्ने बाध्यता कम हुँदै जाने बताउनुभएको छ ।
सोमबार सूर्यविनायक नगरपालिका वडा नंं. ७ मा २५ लाख लागतमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले सांस्कृतिक तथा पर्यटकिय विकास नै आर्थिक समृद्धिको आधार भएको बताउँदै सांसद बस्नेतले देशमा निर्माणको प्रकृयामा अघि बढेका अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान, विर अस्पताल, सभागृह, स्मार्ट सिटी, रेलमार्ग, उद्योगधन्दा, कलकारखाना, लोकमार्ग, जलविद्युत आयोजना निर्माण लगायतका राष्ट्रिय गौरवका आयोजनाले लाखौ नेपालीलाई रोजगारी सिर्जना हुने बताउनुभयो ।
उहाँले नेपालको धर्म, संस्कृति, परम्परा, रितिरिवाज, भेषभुषा, मठमन्दिर, प्रकृतिक सुन्दरता लगायतका कारण विश्वका पर्यटकको रोजाई रहेको भन्दै आर्थिक विकासमा पर्यटन मुख्य आधार रहेको बताउनुभयो ।
आफु निर्वाचित भएपश्चात भक्तपुरको विकासमा मुहार फेरिदै गएको बताउँदै उहाँले आगामी दिनमा स्थानीय स्तरका विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका गरी दुवै विकास निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । विकास निर्माणमा स्थानीय सरकारको मूख्य भूमिका रहेको भन्दै सांसद बस्नेतले स्थानीय सरकारले विकासका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो कार्यकालमा दैनिक एक कार्य गर्ने महत्वकांक्षि योजना रहेको बताउँदै उहाँले सवै राजनैतिक दल, जनप्रतिनिधि तथा जनता मिली विकास निर्माणमा एक ढिक्का भएमा देशको मुहार फेरिने दावि गर्नुभयो । उहाँले जनताले दिएको जनमतलाई उच्च सम्मान गर्दै वर्तमान सरकारले जनमुखी कार्य गर्दै अघि बढेको र जनताका माझ गरिएको प्रतिवद्धताहरु क्रमिक रुपमा पुरा हुँदै जाने बताउनुभयो ।
राष्ट्र र राष्ट्रियतालाई जगेर्ना गर्दै देशमा रोजगारी सिर्जना गर्न सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको र त्यसलाई सवैले साथ र सहयोग गरी सफल बनाउन लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।