विधि र कानुनलाई सम्मान गर्दै विद्यार्थीको भविष्य अन्धकार हुन दिदैंनौं : सांसद बस्नेत

कार्तिक ५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विधि र कानुनलाई सम्मान गर्दै नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीको भाग्य र भविष्यलाई अन्धकार हुन नदिने बताउनुभएको छ ।

आज भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित इन्जिनियरिङ कलेजको ९ औं साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले कलेजमा अध्यनरत २२ सय भन्दा वढी विद्यार्थीको भविष्य सुरक्षित गर्न न्यायोचित र सर्वस्वीकार्य निर्णय गर्दै अघि वढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

उहाँले लोकतान्त्रीक पद्धतिमा जनप्रतिनिधिले गरेको निर्णयलाई मन्त्री परिषद्ले समेत स्विकृत गर्ने बताउँदै नगरपालिकाको नेतृत्वमा सम्पूर्ण राजनैतिक दल एक ढिक्का भई सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कलेजमा भएका कमी कमजोरीलाई सुधार्दै कुनै पनि आर्थिक प्रलोभनमा लाग्नु नहुने बताउनुभयो । कलेजको बैधानिकता अवको अपरिहार्यता भएको भन्दै उहाँले सर्वाजनिक सम्पत्तीलाई निजिकरण गर्नु नहुने बताउनुभयो ।

त्यस्तै सांसद बस्नेतले इन्जिनियरिङ कलेज कसैले आफ्नो व्यक्तिगत स्वार्थका कारण प्राइभेट कम्पनीमा संचालन गर्न नहुने भन्दै सामुदायिक कलेज बनाउन कसैले छेक्न नसक्ने समेत दावि गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद मणीराम फुँयालले संस्था बचाउनेको कलेजको स्वामित्व हुने बताउँदै संस्थाले गर्ने नीति तथा नियमहरु तत्काल किटानी गरी अघि वढ्नुपर्ने बताउनुभयो ।

नेकपा भक्तपुरका अध्यक्ष बचन सिं देउजाले कलेजको शिरमा कालो बादल लगाउने प्रयास भएकोले त्यसलाई अन्त्य गर्दै कलेजको वातावरण स्वच्छ, सुन्दर, व्यवहारिक तथा प्रयोगमूखी वातावरण सिर्जना गर्न आफ्नो र आफ्नो पार्टीको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

भक्तपुर जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले कलेलको नीतिमा एकमत भई अनिर्णयको बन्दी हुनु नहुने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले कलेजमा नगरपालिकाका जनताको हक र अधिकार वढस् भएको भन्दै संस्था वेच्ने प्रवृत्तिको अन्त्य गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा, प्रदेश सभा, विभिन्न राजनैतिक दल, विद्यार्थी संगठन, जनप्रतिनिधि लगायतका प्रभुत्व व्यक्ति सहितको समिति निर्माण गरी कलेज सामुदायिक रुपमा नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कलेजसँग आवद्ध स्थानीय सराकार समितिका संयोजक तथा काग्रेस नेता कृष्णलाल पँडेलले लेनादेनाको सरोकार नराखी उत्कृष्ट तथा शान्तिपूर्ण रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सञ्चालक समितिका सदस्य हरिप्रसाद पाण्डेले कलेज संचालन गर्न नयाँ तरिका आवश्यक रहेको बताउँदै कलेजको समस्या प्रशासनले छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष प्रा.डा. दिपक भट्टराईले सामाजिक भावना भन्दा व्यक्तिगत भावनाको हावि भएका कारण कलेज सञ्ञ्चालनमा समस्या उत्पन्न भएको गुनासो व्यक्त गर्नुभयो । उहाँले केही व्यक्तिहरु आर्थिक प्रलोभनमा परि अनर्थ हल्लाहरु गरी संस्थाको वदनामी गराएकोले त्यसलाई स्थानीय सरकार तथा प्रशासनले सत्य तथ्य छानविन गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com