महिलाको हक तथा मानव अधिकारमा नेपाल सरकार प्रतिवद्ध : मन्त्री थापा

कार्तिक ६, काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपाल विविध सामाजिक परम्परा, धार्मिक अन्धविश्वास तथा कुरिती नै महिला हिंसाको मुख्य कारण भएको बताउनुभएको छ ।

स्वीजरल्याण्डको जेनेभामा भएको ‘महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलक गर्ने महासन्धी (सिड)’को महिला, कानुन तथा विकास मञ्चले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा नेपाल सरकारको तर्फबाट ६औं प्रतिवेदन प्रस्तुत गर्दै मन्त्री थापाले महिलाको हक अधिकार तथा मानव अधिकारको कार्यान्वयनमा नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यस्तै महिला हिंसा, समानता, लैङ्गिक विभेदको अन्त्य गर्दै समावेशी तथा समानतामुलक समाज निर्माण गर्न नेपाल सरकार कुनै पनि कसर चाल्न पछि नपर्ने जानकारी गराउनुभयो । उहाँले वर्तमान नेपालको संविधान महिलामैत्री भएको बताउँदै दक्षिण एसियाको नै उत्कृष्ट तथा मार्ग दर्शकको रुपमा रहेको समेत दावि गर्नुभयो ।

नेपालको संविधानले शिक्षा, स्वास्थ्य, सञ्चार, सम्पत्त, प्रजनन् स्वास्थ्य लगायतका कुराहरुमा महिलाललाई विशेष ध्यान दिएको बताउँदै राज्यका तीन तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्बाचित भएको जानकारी गराउनुभयो ।

संघियताको कार्यान्वयवनसँगै कानुन तथा ऐन निर्माणको क्रममा रहेको र पूर्ण रुपमा ऐन तथा कानुनको निर्माण पश्चात महिला हिंसाको पूर्ण रुपमा अन्त्य हुने दावि गर्नुभयो । उहाँले नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउन महिलाको भूमिका अतुलनिय रहने बताउँदै आगामी दिनमा लैङ्गिक विभेदको खाडललाई अन्त्य गराउने उद्घोष गर्नुभयो ।

महिलालाई आर्थिक रुपमा सक्षम र सबल बनाउन वर्तमान सरकारले महिलामैत्री कार्यहरुलाई लागु गर्ने तयारी रहेको बताउँदै ४० प्रतिशत भन्दा वढी सहकारीमा महिलाहरुको नेतृत्व रहेको समेत मन्त्री थापाले जानकारी गराउनुभयो ।

उहाँले नेपालमा बढ्दै गएको बलत्कारका विषयमा नेपाल सरकार गम्भीर रहेको भन्दै आगामी दिनमा यस्ता प्रकारका अपराधिक क्रियाकलापमा संलग्न रहने जो कोहीलाई कठोर कानुन निर्माणको प्रकृयामा अघि बढिरहेको जानकारी गराउनुभयो ।

उहाँले महिलाको श्रम सुनिश्चित गर्ने प्रकृयामा रहेको बताउँदै वर्तमान सरकार तथा राजनैतिक स्थितरता सँगै कुरामा नभई परिणाममुखी कार्यमा सरकार अघि बढिरहेको बताउनुभयो । श्रम शोषण, मानव बेचविखन, यौन हिंसा लगायतका महिला विरुद्ध हुने कुनै पनि प्रकारका अपराधिक क्रियाकलापलाई नेपाल सरकारले आगामी दिनमा पूर्ण रुपमा नियन्त्रण गर्ने आश्वासन समेत दिनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com