भात खाँदा मरेका किरा उपहार !

‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा ।’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए ।

राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन् । राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन् । तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ ।

लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन् । तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन । ‘भोकाएको बेला सुरूमा त सरासर खाएँ’, नेपालीले भने, ‘थप खाना माग्दा किरै देखियो ।’ यस्ता होटलले यात्रुको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com