विश्वकप ट्रफी शुक्रबार नेपाल ल्याइँदै : स्वयम्भू, पोखरा र चन्द्रगिरी लगिने

कार्तिक ८, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।

इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरीमा लगिने भएको छ ।

त्यस्तै २८ गते आइतबार ट्रफीलाई काठमाडौँको चन्द्रागिरीमा लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाइने कार्यतालिका रहेको छ । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याउन लागिएको बताइएको छ ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com