‘स्थानीय सरकारको साथ, जनताको सहयोग’ राष्ट्रिय गौरवका आयोजना कसैले रोक्न सक्दैन् : सांसद बस्नेत

कार्तिक १३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले संघियता कार्यान्वयनसँगै स्थानीय सरकारको सहयोगकै कारण भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्व सम्पन्न बनाएरै छोड्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको प्रथम समिक्षा बैठकमा स्थानीय सरकारको ‘वार्षिक कार्य प्रतिवदेन प्रस्तुत’ कार्यक्रममा बोल्दै सांसद बस्नेतले राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता भन्ने मूल नारालाई आत्मसात् गर्दै विकास निर्माणका कार्यमा एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

आर्थिक समृद्धि नै अहिलेको अपरिहार्य भएको बताउँदै सांसद बस्नेतले नेपाल धार्मिक, सांस्कृतिक, पर्यटकिय लगायतका क्षेत्रहरुमा विश्वको सर्वोत्कृष्ट रहेको जसमा भक्तपुर सवैभन्दा अघि रहेको बताउँनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गराउनु नै वर्तमान जनप्रतिनिधि तथा सरकारको कर्तव्य हुने बताउनुभयो । सांसद बस्नेतले विश्व सम्पदा सूचिमा सूचिकृत रहेका सम्पदाहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न सवै स्थानीय सरकार काँधमा काँध मिलाई अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले भक्तपुरमा संघिय सरकारको योजनामा परहेका राष्ट्रिय गौरवका आयोजनाहरु सभागृह, अन्तर्राष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, सुरुङ मार्ग, विर अस्पताल, स्याटलाइट सिटी, मेलम्ची खानेपानी वितरण लगायतका आयोजनाहरु सम्पन्न गराउन स्थानीय तहले संघिय सरकारलाई आवश्यकता अनुसारको सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।

सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरमा हनुमन्ते नदी सफाई अभियान, जाममुक्त भक्तपुर, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर अभियान लगायतका कार्यहरु तिव्र रुपमा अघि बढिरहेका छन् । उक्त अभियानलाई सफलता बनाउन स्थानीय तहको मुख्य भूमिका रहेको छ । उक्त अभियानहरु सफल भएमा भक्तपुरमा आर्थिक, सांस्कृतिक, पर्यटकिय, वातावरणीय लगायत कुराहरुबाट समृद्ध भक्तपुर निर्माण हुने देखिन्छ ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक, खानेपानी, विजुली लगायतका विकास निर्माणमा आएका समस्याहरु समाधान स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडक विस्तारको क्रममा आइरहेका अवरोधहरुलाई तत्तकाल वार्ता र छलफलको माध्यमबाट समाधान खोज्न आग्रह समेत गर्नुभयो ।

उहाँले सडक जामलाई न्युनिकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रकृयामा अघि बढेको र निर्माण सम्पन्न भएपश्चात सवारी जामको सास्तीबाट सवैले छुटकारा पाउने विश्वास दिलाउनुभयो ।

उहाँले भक्तपुरमा खानेपानीको समस्या समाधान गर्न सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोडमा रहेको एक स्थान र महादेव खोला मुहान पोखरीमा ड्याम्प (बाँध) बनाउने बारेमा समेत व्यापक छलफल भएको जानकारी गराउनुभयो । उहाँले उक्त दुई स्थानमा ड्याम्प बनाउन सफल भएमा भक्तपुर जिल्लाको लागी मात्र नभई काठमाडौं उपत्यकावासीलाई नै खानेपानी समस्या समाधान गर्ने अर्को विकल्पको रुपमा हुने बताउनुभयो ।

भक्तपुर जिल्लाका चारवटै स्थानीय सरकारले समग्र जिल्लाको विकासमा ऐक्यवद्धता व्यक्त गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउन सामुहिक रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवदेन प्रस्तुत गर्दै सूर्यविनायक, चाँगुनारायण तथा भक्तपुर नगरपालिकाले भक्तपुरमा सांसद बस्नेतको पहलमा भइरहेका साना तथा ठूला सवै प्रकारका विकास निर्माणका कार्यहरुमा जस्तोसुकै साथ र सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश नं. तीनका सांसद शसि जंग थापा, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, उपत्यका विकास प्राधिकरण, नेपाल रेडक्रस, मानव प्रत्यारोपण केन्द्र, इवामुरा अस्पताल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका प्रमुख तथा चार वटै नगरपालिकाका उपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com