भक्तपुरका नगरपालिकाहरुको ऐक्यवद्धता, राष्ट्रिय गौरवका आयोजना सफल बनाउन प्रतिवद्धता

कार्तिक १४, भक्तपुर । भक्तपुर जिल्ला सवन्बय समितीले आज एक समारोहको बीच जिल्ला स्तरीय योजना समिक्षा गोष्टी सम्पन्न गरेको छ ।

पुर्वमन्त्री एवं भक्तपुरका सांसद महेश बस्नेतले उद्घाटन गरेको उक्त कार्यक्रममा जिल्लाका चारवटै स्थानीय सरकारले समग्र जिल्लाको विकासमा ऐक्यवद्धता व्यक्त गर्दै राष्ट्रिय रुपमा गौरव गर्न लायकका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउन सामुहिक रुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

भक्तपुर जिल्ला समन्वय समितिले आयोजना गरेको प्रथम समिक्षा बैठकमा स्थानीय सरकारको वार्षिक कार्य प्रतिवदेन प्रस्तुत गर्दै राजनीतिमा प्रतिस्पर्धा विकासमा एकता भन्ने मूल नारालाई आत्मसात् गर्दै विकास निर्माणको कार्यमा एक ढिक्का भई अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिवदेन प्रस्तुत गर्दै सूर्यविनायक, चाँगुनारायण, मध्यपुर ठिमी तथा भक्तपुर नगरपालिकाले आर्थिक समृद्धि नै अहिलेको अपरिहार्य भएको बताए ।

नेपाल धार्मिक, सास्कृतिक, पर्यटकिय लगायतका क्षेत्रहरुमा विश्वको सर्वोत्कृष्ट रहेको जसमा भक्तपुर सवैभन्दा अघि रहेको बताउँदै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गराउनु नै वर्तमान जनप्रतिनिधि तथा सरकारको कर्तव्य हुने बताएका छन् । विश्व सम्पदा सूचिमा सूचिकृत रहेका दरबार स्क्वायर , चाँगुनारायण तथा मध्यपुर थिमी तथा सूर्यविनायक नगर सम्पदाहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्न सवै स्थानीय सरकार काँधमा काँध मिलाई अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा भक्तपुरमा संघिय सरकारको योजनामा सुरु भइरहेका राष्ट्रिय आयोजनाहरु अन्तराष्ट्रिय सभागृह, अन्तराष्ट्रिय स्तरको रंगशाला, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, सुरुङ मार्ग, विर अस्पताल, स्याटलाइट सिटी, मेलम्ची खानेपानी वितरण लगायतका आयोजनाहरु सम्पन्न गराउन स्थानीय तहले संघिय सरकारलाई आवश्यकता अनुसारको जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत उद्घोष गरेका छन् ।

त्यस्तै सांसद बस्नेतकै नेतृत्वमा भक्तपुरमा हनुमन्ते नदी सफाई अभियान, जाममुक्त भक्तपुर, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर अभियान लगायतका कार्यहरु तिव्र रुपमा अघि बढिरहेका छन् । उक्त अभियानलाई सफलता बनाउन स्थानीय तहको मुख्य भूमिका रहेको छ । उक्त अभियानहरु सफल भएमा भक्तपुरमा आर्थिक, सांस्कृतिक, पर्यटकिय, वातावरणीय लगायत कुराहरुबाट समृद्ध भक्तपुर निर्माण हुने देखिन्छ ।

कार्यक्रममा बोल्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक, खानेपानी, विजुली, अस्पताल लगायतका विकास निर्माणमा आएका समस्याहरु समाधान स्थानीय सरकारले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडक विस्तारको क्रममा आइरहेका अवरोधहरुलाई तत्काल वार्ता र छलफलको माध्यमबाट समाधान खोज्न आग्रह समेत गर्नुभयो ।

उहाँले सडक जामलाई न्युनिकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण प्रकृयामा अघि बढेको र निर्माण सम्पन्न भएपश्चात सवारी जामको सास्तीबाट सवैले छुटकारा पाउने विश्वास दिलाउनुभयो ।

उहाँले भक्तपुरमा खानेपानीको समस्या समाधान गर्न सूर्यविनायक नगरपालिका वडा नं. १० सूर्यमोडमा रहेको एक स्थान र महादेव खोला मुहान पोखरीमा ड्याम्प (बाँध) बनाउने बारेमा समेत व्यापक छलफल भएको जानकारी गराउनुभयो । उहाँले उक्त दुई स्थानमा ड्याम्प बनाउन सफल भएमा भक्तपुर जिल्लाको लागी मात्र नभई काठमाडौं उपत्यकावासीलाई नै खानेपानी समस्या समाधान गर्ने अर्को विकल्पको रुपमा हुने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व भक्तपुर जिससका प्रमुख नवराज गेलालले गर्नुभएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रदेश नं. तीनका सांसदहरु शसि जंग थापा, रजनी जोन्छे, प्रतिमा श्रेष्ठ, सरस्वती सोसाइटी, सूर्यविनायक नगरपालिका प्रमुख बासुदेब थापा, उपत्यका विकास प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, मानव प्रत्यारोपण केन्द्र, इवामुरा अस्पताल, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, चारवटै नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com