उपत्यकामा चार सुविधा सम्पन्न शहर बन्ने

कात्तिक १६, काठमाडौँ । पुरानो बस्ती तथा संंरचनाका भुकम्पमा परि हजारौं भौतिक संरचनाहरु ध्वस्त रहेको अवस्थामा उपत्यकामा चारवटा सुविधासम्पन्न शहर तथा साना÷ठूला गरी जम्मा सात वटा ताल बन्ने भएको छ ।

एक लाख रोपनी क्षेत्रफलमा बन्ने शहर निर्माण गर्न करिव २० अर्वभन्दा माथि लाग्ने अनुमान गरिएको छ । साना शहर निर्माणका लागि अढाइ अर्बसम्म लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । सुविधा सम्पन्न सहर निर्माणको साथ साथै उपत्यकालाई हरियाली सहरको रुपमा विकास गर्न प्रकृया अघि बढाईएको छ । जसको लागि नेपाल सरकार तथा विभिन्न संघसस्थाहरुले काम अघि वढाइसकेका छन् । उपत्यकाम रहेका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते नदी लगायतका क्षेत्रमा निर्माणाधिन रहेका करिडोरसँगै बगौंचा समेत निर्माण गरिने भएको हो ।

राजधानीको पूर्वी क्षेत्रका कागेश्वरी मनोहरा, चाँगुनारायण, मध्यपुरथिमी, शङ्खरापुर र भक्तपुर गरी पाँच वटा नगरपालिका क्षेत्रका जग्गा समेटेर सुविधा सम्पन्न शहर निर्माण हुन लागेको हो ।

मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको काठमाडौँ उपत्यका प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले जानकारी दिनुभयो ।

मनोहरा नदी किनारमा निर्माण हुने शहर ५०० रोपनीमा फैलने गरी ताल निर्माण गरिने छ । प्राचीनकालमा उपत्यकाको बस्ती विकास गर्दा निर्माण भएका प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु संकटमा परेकाले तिनिहरुको संरक्षण तथा सम्वद्र्धन गर्दै नयाँ सहरको विकास गर्न लागिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बताउनुभयो ।

उक्त परियोजनाको आगामी २०७६ साल असार मसान्तसम्ममा डिपिआर सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ । उक्त परियोजना तयार पार्न १० करोड रकम विनियोजन गरिएको छ ।

भक्तपुरको गुण्डु, सिपाडोल, कटुन्जे, दधिकोट, बालकोट क्षेत्रमा बन्ने शहरको सर्वेक्षण गरिएको छ । उक्त क्षेत्रमा १७ हजार रोपनी जग्गा विकास गरी नयाँ शहर निर्माण गर्ने तयारी भएको छ ।

उपत्यकाको टोखा–झोर–धर्मस्थली क्षेत्रमा विकास गरिने अर्को शहरको प्रारम्भिक सर्वेक्षण सकी विस्तृत सर्वेक्षण हुन लागेको प्राधिकरणले जनाएको छ । यहाँ १० हजार रोपनीभन्दा धेरै क्षेत्रको सर्वेक्षण गरी शहर निर्माण गरिने भएको हो ।

नयाँ शहरको विकासको योजनामै विद्युत, टेलिफोन, केवल, इन्टरनेटलगायतको तार भूमिगत बनाइनेछ । अपाङ्ग र साइकलमैत्री सडक बनाइनेछ । सडकमा व्यवस्थित पैदल मार्गको व्यवस्था गरिनेछ ।

मनोहरा नदी किनारमा बन्ने शहरको हाल फिनल्याण्डको परामर्शदाता हेलेन एण्ड कम्पनी विद् जेके एशोसियट्सले विस्तृत परियोजना प्रस्ताव निर्माणको काम गरिरहेको प्राधिकरणले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com