राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्, ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।’ उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन ।

ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक कर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com