दुई वर्षभित्रमा धुँवा, धुलो तथा खाल्डाखुल्डी मुक्त : बरिष्ठ नेता नेपाल

कात्तिक २१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आगामी दुई वर्षभित्रमा आफ्नो क्षेत्रमा धुँवा, धुलो तथा खाल्डाखुल्डी मुक्त बनाउने उद्घोष गर्नुभएको छ ।

भक्तपुर जिल्लाको सूर्यविनायक वडा नं. ५ मा सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दिपावली, छठ, नेपाल सम्वत् ११३९ तथा ल्होछार पर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कोटेश्वर, मनोहरा लगायतका काठमाडौँ उपत्यकामा आगामी दुई वर्षभत्रमा सवै बाटोहरु पिच गरिसक्ने बताउनुभयो ।

उहाँले जनताको जनमतका आधारमा नै वर्तमान नेतृत्वमा नै सुख र समृद्धिका आधारहरु तयार हुने दावि गर्नुभायो । उहाँले सामाजिक न्याय सहितको लोकतान्त्रिक गणतन्त्र भएकाले नेपालमा कुनै प्रकारको जातीय हिंसा मच्चाउन नपाइने भन्दै नेपाली हुँ भन्ने पहिचान पहिलो भएको बताउनुभयो ।

नेकपाको दुई तिहाइको सरकार निर्माण भई देशमा राजनीतिक स्थीरतासँगै अब उज्यालो युगमा प्रवेश गरेको भन्दै देशमा योग्यता तथा क्षमताको कदर हुनेमा विश्वास दिलाउनुभयो ।

जनमतले विकासको जिम्मा नेकपाको नेतृत्वमा दिएको भन्दै बर्तमान सरकारले देशको मुहार फेर्ने प्रकारका कार्यहरु अघि बढाए ता पनि अनुगमन तथा मुल्याङ्कन पद्धतिमा कमिकमजोरी भइरहेको नेता नेपालले बताउनुभयो ।

उहाँले गास, वास, कपास, आवास, वातावरण स्वच्छतासँगै निर्वाचनको समयमा नेकपाले गरेको सम्पूर्ण प्रतिवद्धता पुरा गरेरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आगामी बजेटले बृद्ध भत्ता समेत वृद्धि गर्ने बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com