श्रद्धा, आस्था र निष्ठा : आज तिहारको अन्तिम दिन भाइटीका मनाइदै

कात्तिक २३, काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीलाई विधि पूर्वक मनाउँदा मृत्यु समेत नाश हुन्छ भन्ने विश्वासका साथ आज भाइटिका लगाई मनाइदैछ । त्यसैले भाइटीकालाई मृत्युनाशक भन्ने पनि प्रचलन छ । कार्तिक शुक्ल द्धितिया तिथीमा भाइटीका मनाइन्छ । भाइटीकालाई यम द्धितिया पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनले भने।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि तीन वर्षअघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दथ्यो । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com