स्वरोजगारमा झापा देशकै उत्कृष्ट, हालसम्म दुई हजार दुई सय युवा स्वरोजगार
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रममा झापा देशकै उत्कृष्ट बनेको छ । कोषले लगानी गरेको रकमबाट झापामा हालसम्म दुई हजार दुई सय युवा स्वरोजगार भएका छन् । झापामा कोषमार्फत लगानी गरिएको रकम शतप्रतिशत भुक्तानी भएको छ । याे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छापिएकाे छ ।
लगानी र व्यवसायीको संख्याको आधारमा झापा उत्कृष्ट भएको कोषका जिल्ला संयोजन समिति संयोजक सन्तोष सापकोटाले बताए । ‘कोषबाट लगानी भएको रकमलाई युवाले व्यवसायमा लगाएका छन्,’ सापकोटाले भने, ‘तीमध्ये नियमित किस्ता समयमै तिर्ने असल व्यवसायीलाई ब्याजबापतको ६० प्रतिशत रकम फिर्ता दिन सुरु गरिएको छ ।’
शनिबार बिर्तामोडमा १४ सहकारी मार्फत रकम लिएका सबै आठ सय ४४ युवालाई रकम फिर्ता दिइएको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दगांलले बताए । कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले जनताले तिरेको कर उनीहरुकै हातमा पुर्याउन र युवालाई व्यवसायिक बनाउन लगानी गरिएको बताए । उनले कोषको दुरुपयोग रोक्ने पनि बताए ।
स्वरोजगार कार्यक्रम सुरु भएदेखि झापामा ६२ सहकारीमार्फत ३३ करोड रुपैयाँ लगानी गरिएको छ । कोषले एक जनाबराबर अधिकतम दुई लाख रुपैयाँ मात्र लगानी गर्दै आएको छ । कोषले सहकारीलाई पाँच प्रतिशत र सहकारीले व्यवसायीलाई दश प्रतिशत ब्याजदरमा लगानी गर्दै आएको छ । व्यवसायीले भने सो रकम बढाएर पाँच लाख पुर्याउनुपर्ने माग गरेका छन् । उपाध्यक्ष दंगालले यो निर्णय भइसकेको र चाँडै लागू गरिने बताए ।