सूचना लुकाउन पाइँदैन : आयुक्त तिम्सिना

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचना लुकाई जनताको सूचना पाउने हक अधिकारलाई बञ्चित गर्न नपाउने बताउनुभएको छ ।

जागरण नेपाल, सञ्चारिका समूह र मेन (पुरुष) इन्गेज अलाइन्सको आयोजनामा भएको ‘लैङ्गिक समानताका लागि पुरुष सहभागिता र सञ्चार माध्यमको भूमिका’ विषयको अन्तरक्रियामा आयुक्त तिम्सिनाले नेपालमा लैङ्गिक हिंसाको अन्त्यको लागि सञ्चार माध्यमको भूमिका सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले मिडियाले नागरिकमा सकारात्मक सूचना प्रवाह गरे हिंसा न्यूनीकरण हुने जिकिर गर्नुभयो । सञ्चारिका समूहका अध्यक्ष नीतु पण्डितले देशमा पुरुषले मात्र नभई महिलाले पनि महिलामाथि नै हिंसा गर्ने गरेको तीतो यथार्थ रहेको समेत बताउनुभयो ।

जागरण नेपालका व्यवस्थापक मीना विष्टले ‘म पनि बोल्छु’ भन्ने लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान २०१८ ले जनचेतनामूलक कार्य अघि बढेको बताउनुभयो । उहाँले महिलाले बोलेर मात्र समाजमा समानता नआउने भएकाले हिंसा अन्त्य गर्न पुरुषको सहभागिता अनिवार्य भएको धारणा व्यक्त गर्नुभयो ।

मेन इन्गेज अलाइन्सका अध्यक्ष कृष्ण थापाले हिंसा अन्त्यका लागि पुरुष सहभागिता अपरिहार्य रहेको बताउनुभयो । पत्रकार टङ्क पन्तले परिवारलाई सुधार गर्दा नै हिंसाको अन्त्य हुने बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com