फोहोर गरे जरिवाना र कैद

भक्तपुर, १५ मङ्सिर । ‘उठौं जागौं भक्तपुर शहर स्वच्छ सफा हराभरा र समृद्ध बनाउन आजैबाट लागौं’ भन्ने नाराका साथ थालिएको अरनिको राजमार्ग सफाईको एक महिने अभियानको आज १०औं दिन उत्साहजन सहभागिता सहित सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको सफाई अभियानलाई तिव्रता दिरहेको समयमा फोहोर गर्नेलाई सूचना तथा जानकारी जनतासामु पुर्याउने कार्यभइरहेको छ । सूचना र जानकारी प्राप्त गर्दा गर्दै पनि वेवास्ता गरे कानुनी कारवाहीलाई समेत कठोर निर्णय गर्दै अघि बढेको छ ।

हनुमन्ते नदी सफाई अभियान तथा अरनिको राजमार्ग सफाई अभियानले संयुक्त रुपमा सार्वजनिक प्रचार समाग्रीको प्रयोग गर्दै आगामी दिनमा भक्तपुरका सार्वजनिक ठाउँमा फोहोर फाली वातावरण प्रदुषण गरेमा पाँच सयदेखि एक लाखसम्म जरिवाना, तीन महिनासम्मको कैद वा दुवै गर्ने समेत जानकारी गराएको छ ।

हनुमन्ते नदीको ४०औं हप्ता तथा राजमार्गको १०औं दिन संयुक्त रुपमा अरनिको राजमार्ग अन्तर्गत राधेराधेदेखि सल्लाघारीसम्म सफाई गरिएको छ । आजको अभियान करिव ९५० जनाको सहभागितबाट करिव १५ टन फोहोर संकलन गरिएको हनुमन्ते नदी सफाई अभियानका उत्प्रेरक रुद्र पौडेलले जानकारी गराउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देश बदल्नलाई सर्वप्रथम आफु बदलिनुपर्ने भन्दै भक्तपुरका आम नागरिकले मनैबाट मानसिक फोहोर हटाई वातावरण प्रदुषणमुक्त बनाउन बस्ती बस्तीबाट उठ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न सञ्चार माध्यम तथा प्रचार प्रसार सामग्रीबाट सूचना गरिएको र आगामी दिनमा कसैले सूचनालाई वेवास्था गरे कानुनी कठाघरामा ल्याइने समेत चेतावनी दिनुभयो ।

वातावरण प्रदुषण नियन्त्रण गरी भक्तपुरमा पर्यटकि तथा अन्य विभिन्न प्रकारका राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गरी आर्थिक वृद्धिदरलाई उच्च बनाउन सकिने भन्दै विकसित भक्तपुर बनाउन सवैले हातमा हात काँधमा काँध मिलाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भक्तपुरका विकासले जनताको चाहना पुरा हुने मात्र नभई रोजगारीको वातावरण समेत सिर्जना हुने बताउनुभयो ।

को नेतृत्वमा प्रदेश सांसद शसी जंग थापा, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्था, जनप्रतिनिधि, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com