नागरिकता र बालविवाहका सन्दर्भमा दुई वर्षमै प्रतिवेदन पेश गर्नु : सिड

काठमाडौँ, २४ मङ्सिर । महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (सिड)ले नेपाल सरकारलाई नागरिकता र बालविवाहका सन्दर्भमा दुई वर्षमै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

मिडिया एड्भोकेसी ग्रमु, महिला, काुनन र विकास मञ्च, युएनओमेनले संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको प्रतिवेदनका सम्बन्धमा सिडले दिएको निर्देशनको बारेमा नागरिक समाजको तर्फबाट सिडद्वारा नेपाल सरकारलाई दिएको निर्देशनको बारेमा जानकारी गराइएको हो ।

नेपालले ६ कात्तिक ०७५ मा स्विजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघमा सिड कमिटी समक्ष छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।

सिड विश्वका १ सय ८७ मुलुकले अनुमोदन गरेको महिला अधिकार महासन्धि हो जसले नागरिकता र बालविवाहको सन्दर्भमा तत्काल समानता प्रबद्र्धनको कदम चाल्न सुझाव दिँदै कमिटीले दुई वर्षमै प्रतिवेदन बुझाउन भनेको छ । सामान्यतया प्रत्येक चार वर्षमा सरकारहरूले मुलुकमा महिला अधिकारका सन्दर्भमा भएका उपलब्धिलाई लिएर प्रतिवेदन पेस गर्नुपर्छ ।

छाँया प्रतिवेदनमा नेपालका ९३ वटा गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो । कमिटीले दिएको निष्कर्ष सुझावमा नागरिकता सम्बन्धी संविधानमा रहेको विभेदपूर्ण कानुन सिडको धारा ९ को २ विपरीत भएकाले संशोधनका लागि भनिएको छ । विभेदको परिभाषा, यौन हिंसा तथा बलात्कार, महिलाको स्वास्थ्य, शिक्षा, रोजगारमा अवसर, मानव बेचबिखनको अन्त्य, कूटनीतिक सेवामा महिलाको सहभागिता वृद्धिलगायतका कुरा निष्कर्ष सुझावमा परेका छन् ।

दलित, आदिवासी, अपांगता भएका, लैंगिक अल्पसंख्यक र यौनकर्मी महिलाप्रति गरिने भेदभावको अन्त्य गर्न जनचेतना फैलाउनु पर्नेमा जोड दिएको छ । महिला पुरुषबीच बच्चा जन्मनेबित्तिकै स्वतः विवाह हुने देवानी संहिताको व्यवस्था खारेज गर्न पनि सुझाब दिइएको छ ।

पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको प्रतिवेदनका सम्बन्धमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्याल तथा नागरिक समाजको प्रतिवेदन र सिड कमिटीको निष्कर्ष सुझावबारे महिला, कानुन तथा विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठ, महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता सरू जोशी श्रेष्ठ, संकल्पकी अध्यक्ष अधिकारकर्मी लिली थापा, तुलसालता आमात्य र बबिता बस्नेतले जानकारी गराउनुभएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com