संघिय समस्याको समाधान आफ्नै मौलिक विशेषताको आधारमा गरिनुपर्छ : का.वा. अध्यक्ष खडका

काठमाडौँ, २९  मङ्सिर । सर्वोच्च अदालत वार एशोसिएशनका का.वा. अध्यक्ष अधिवक्ता राजु खडकाले संसारकै सबैभन्दा कान्छो संघीय व्यवस्था अंगालेको हाम्रो देश नेपालको संघीय समस्याको समाधानमा अन्य देशहरूका सो सम्वन्धि अनुभव तथा प्रयोगहरू सहयोगी हुनसक्ने भएतापनि आफ्नै मौलिक विशेषताको आधारमा हुनुपर्ने बताएका छन् ।

हाम्रो देशमा आफ्नै मौलिक विशेषताको आधारमा संघीय गणतन्त्रात्मक व्यवस्था २०६२/६३ को ऐतिहासिक जनआन्दोलनले स्थापित गरेको हुंदा यसको प्रयोगका क्रममा आइपर्ने कुनैपनि समस्याको समाधान पनि हामीले हाम्रै मौलिक विशेषताको आधारमा गरिनुपर्ने उनले बताए ।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलन कुनै देश विशेषको नक्कल गरेर भएको नभई हाम्रै देशको तत्कालीन आवश्यकताको उपज भएको उनले बताएका हुन । सर्वोच्च अदालत वार एशोसिएशनद्वारा १७औं लेक्चर सिरिजको रूपमा ‘Federal Dispute Settlement in Nepal, India and USA’ विषयक छलफल कार्यक्रममा अध्यक्षको आशनबाट बोल्दै उनले उक्त विचार व्यक्त गरेका हुन् ।

उक्त छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सर्वोच्च वारका सदस्य अधिवक्ता डा. रूद्र शर्माले संघीय व्यवस्था अपनाएका भारत तथा संयुक्त राज्य अमेरिकामा आइपरेका संघीय विवादहरू र ती विवादहरूको समाधानमा ती देशहरूले अपनाएका प्रक्रियाहरूको वारेमा तुलनात्मक अध्ययन प्रस्तुत गरेका थिए । सर्वोच्च अदालत वार एशोसिएशनको नियमित कार्यक्रमको रूपमा रहेको उक्त कार्यक्रमको संचालन सर्वोच्च अदालत वारका सचिव शुभानराज आचार्यले गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com