ट्रिटन कलेजमा प्रहरी—विद्यार्थी समन्वय समिति गठन

काठमाडौँ, ५ पौष । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपि) बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए या घुस मागेमा सिधै आफ्नो मोवाइल ९८५१२०५५५५ मा फोन गरेर तत्काल जानकारी दिन सर्वसाधारणसंग आग्रह गरेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा विहीबार सो कलेजमा आयोजित प्रहरी—विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्वोधन गर्दै एसएसपि लामाले ७६ हजारको संख्यामा रहेको नेपाल प्रहरी संगठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसक्ने पनि बताए ।

पछिल्लो समयमा महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै त्यस्ता गलत नियत भएका ३८ जना प्रहरीलाई निलम्वन गरि कारवाही गरिसकेको पनि उनले बताए ।

जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी संगठनमा आवद्ध हुने केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसंग मुख जोडेर काम गर्ने गर्नाले नै प्रहरी संगठनप्रति जनताको विश्वास गुम्न थालेको उनले गुनासो गरे ।

‘सिंगो प्रहरी संगठन स्वच्छ, इमान्दार, नैतिकवान हुनुपर्छ, नत्र कसरी जनताको मन जित्न सकिन्छ ?’उनले प्रतिप्रश्न गरे । ‘प्रहरीको वर्दी लगाएर गलत काम कसैले गर्छ भने उसलाई प्रहरीको जागीर खान पुग्यो भनेर सोच्नुपर्छ’ उनले भने ‘यस्ता व्यक्ति संगठनमा बस्नु उपयुक्त होइन ।’

कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधि भेटिने कुरामा दुईमत नभएको दावी गर्दै विगतमा पनि रानीबारी हत्याकाण्ड लगायतका विभिन्न ठुला अपराधमा संलग्न अपराधिलाई ढीलो भएपनि पक्रिन सफल भएको प्रष्ट पारे ।

वरिष्ठ पत्रकार एवम् स्काउट शिक्षक बलराम प्यासीको संयाजकत्वमा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले विद्यार्थी र प्रहरी मिलेर समाजमा अमनचैन र शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्न सकिने बताए । केलजमा विहीबार गठन गरिएको प्रहरी—विद्यार्थी समन्वय समितिको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा कलेजका प्राचार्य डा.विहारी विनोद पोखरेल तथा सहप्राचार्य श्रीकृष्ण विष्टले पनि प्रहरी—विद्यार्थी सहकार्यका बारेमा आआफ्नो विचार राखेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com