सुन्दर, सुरक्षित तथा उज्यालो राजमार्ग बनाएरै छोड्छौं : सांसद बस्नेत

भक्तपुर, ७ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर, सुरक्षित, उज्यालो राजमार्ग, हिंसा, दुव्र्यसनमुक्त बनाउँदै विकसित तथा समृद्ध भक्तपुर बनाएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आज भक्तपुर जिल्लाको अरनिको राजमार्ग सफाई अभियानको दोस्रो चरणको समापन तथा हनुमन्ते नदी सफाई अभियानको सामाजिक सेवा उद्घोष सार्वजनिक कार्यक्रममा बोल्दै सांसद बस्नेतले मानिसको गास, वास, कपास जस्तै अनिवार्य आवश्यकता रहेको वातावरण भएकाले यसलाई विशेष ध्यान दिुनपर्ने बताउनुभयो ।

विकास र समृद्ध देश बनाउन मनचेतना आवश्यक रहेको बताउँदै उहाँले तीन महिना भित्रमा उज्यालो भक्तपुर बनाउने महत्वकाक्षि योजनाका साथ स्थानीय तहसँग सहकार्य भइरहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा हुने विभिन्न प्रकारका लागुऔषध, विकृति तथा हिंसालाई नियन्त्रण लिन प्रहरीको सामुदायीक प्रहरी सेवासँगै जोडी अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियान सँगसँगै अघि बढेको बताउनुभयो ।

अभियानसँगै अतिक्रमणको अन्त्य गर्ने कार्य प्रारम्भ भएको बताउँदै सांसद बस्नेतले पार्किङ, फुटफाट तथा खुद्रा पसलको व्यवस्थापन गर्ने कार्य अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले सडक वत्ती, ट्राफिक लाईटको व्यवस्थापन गर्दै दुर्घटना, लागुऔषध तथा हिंसामुक्त भक्तपुर निर्माण अहिलेको अपरिहार्य समेत भएको बताउनुभयो ।

४२ औं हप्तासम्मको हनुमन्ते नदीको सफाई अभियानले धेरै मात्रामा नदीको फाहोर व्यवस्थापन भएको भन्दै सांसद बस्नेतले आगामी दिनमा विकेन्द्रीकृत प्रणालीमा सफाई अभियान हुने जानकारी गराउनुभयो । आगामी दिनमा सफाई अभियान प्रत्येक शनिवार हनुमन्ते नदी सफाई, बुधवार अरनिको राजमार्ग केन्द्रित हुने बताउनुभयो ।

उहाँले भक्तपुरलाई सफा र सन्दर बनाउन राजमार्ग तथा नदीमा मात्र सिमित नभई भक्तपुरका गल्ली गल्ली, चोक चोक, टोल टोलमा सफाई अभियान सञ्चालन हुने बताउनुभयो ।

शुन्य लगानीमा यो अभियान सञ्चालन शुरु भएको जानकारी दिदैं पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले आगामी दिनमा ढलमुक्त हुनमन्ते नदी बनाउने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले विवादका कारण १३ किमि मात्र ढल राख्ने कार्य भएको र वाँकी १२ किमि पनि ढल राख्ने कार्य सफाईको अभियानसँगै अघि बढ्ने बताउनुभयो ।

विगतमा भक्तपुरका नागरिकले विपद्मा ठूलो समस्या झेल्नुपरेको बताउँदै त्यसको समाधानको लागि स्थानीय उद्योगीको २० लाख सहयोगमा विपद् व्यवस्थापनका सामग्रीहरु सुरक्षा निकायहरुलाई हस्तान्तरण गरिएको र ती समाग्रीले आवश्यकता अनुसार मानविय भावनका साथ छिमेकी जिल्लाहरुमा समेत विपद् व्यवस्थापनका लागि सहयोग गर्न सकिने जानकारी गराउनुभयो ।

भक्तपुरमा हुने दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक व्यवस्थापनका लागि मेलम्चीले भत्काएको सडक एक हप्तामा सक्न, सडक आयोजनालाई सर्भिस ट्र्याक नभएका ठाउँमा बनाउन सचेत गराएको बताँदै उहाँले आकाशे पुल निर्माण गर्न प्रकृया समेत अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुनिल प्रजापती, प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ, रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, काग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, मध्युर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, सूनपा उपप्रमुख जुना बस्नेत लगायतले आ आफ्नो धारणा राखनुभएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com