दश बर्षभित्रमा गरिवीमुक्त प्रदेश : मुख्यमन्त्री गुरुङ

तनहुँ, १० पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्ने भन्दै आगामी दश बर्षमा गरिवीमुक्त प्रदेश बनाउने उद्घोष गर्नुभएको छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशभित्र हाल १४ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोले ५ वर्षभित्र गरिबीलाई ७ प्रतिशतमा झार्ने र १० वर्षभित्र गरिबमुक्त प्रदेश बनाउने योजनाका साथ सरकार लागि परेको बताउनुभयो ।

स्थानीय अग्रसर नभएसम्म विकास असम्भव रहेको बताउँदै उहाँले विकासका लागि सङ्घीय र प्रदेश सरकार सहयोगी बन्न सक्ने बताउँदै स्थानीयको अग्रसरता र सरकारको सहयोगले मात्रै विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने सरकारको सोच रहेकोले त्यसको लागि योजना सरकारले बनाइसकेको उहाँले जानकारी दिनुभयो ।

पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु पाँच करोडको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रवक्ता हरिबहादुर खड्काले बताउनुभयो । महोत्सवमा २०० कक्ष रहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com