गार्मेन्टबाट कृषि तालिम केन्द्र जाने सडक निर्माण हुने

भक्तपुर, १४ पौष । सडक विस्तार र विकासमा द्रुत गति लिएको भक्तपुरमा लोगो गार्मेन्टबाट खड्का टोल हुँदै कृषि तालिम केन्द्र जाने सडक आगामी २०७६ साल जेष्ट भित्रमा निर्माण सम्पन्न हुने भएको छ ।

शुक्रबार मध्यपुर नगरपालिका वडा नं ९ को वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बसेतको विशेष पहलमा शुक्रवार भएको छलफलले उक्त निर्णय गरेको हो ।

मध्यपुर थिमी नगरपालिका वडा नं. ९ मा पर्ने उक्त सडक रातो किताबमा परेको छ । उक्त सडक निर्माणका लागि राजनीतिमा प्रतिस्पर्धा, विकास निर्माणमा एकिवद्धता भन्ने नारालाई आत्मसात् गर्दै सवै नागरिक, जनप्रतिनिधि लगायतले एक ढिक्का भई आपसी समस्यालाई समाधान गर्दै गुणस्तरिय सडक निर्माण गर्ने सहमति भएको छ ।

सडक निर्माण तथा विस्तार गर्न संघिय बजेटले रिटेनिङ्ग वाल र फुटपात निर्माण गर्ने, नगरपालिकाको बजेटले ढल हाल्ने र पि.आई.डी.ले मेलम्ची खानेपानीको पाइप लाइन बिच्छाई कालोपत्र (पिच) गर्ने समझदारी भएको छ ।

सडक निर्माण तथा विस्तार गर्न सांसद बस्नेतको नेतृत्वमा भएको उक्त छलफलले उपभोक्ता, जनप्रतिनिधि लगायत सबैले सहयोग गरी कतैबाट बाधा अवरोध नहुने गरी सबै पक्षले एक आपसमा सदभाव र सहयोग गरी उक्त कार्यलाई गुणस्तरीय रुपमा मिति २०७६ जेष्ठ मसान्त सम्म सम्पन्न गरी, एउटाले बनाउने अर्काले भत्काउने परम्पराको अन्त्य गर्दै नमुना सडक निर्माण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा वोल्दै सांसद बस्नेतले स्थानीय समझदारी नै विकासको दु्रत गति हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि कामलाई लक्षित उद्देश्यमा पुर्याउन कामको संयोजना उत्तम हुुनुपर्छ । कसैले बनाउने त कसैले भत्काउने परम्पराको अन्त्य गर्नुपर्छ ।’

उक्त सडक निर्माण गर्न पिआईडी, मध्यपुर थिमी नगरपालिका तथा संघिय सरकारको समन्वयमा सडक निर्माण हुने सांसद बस्नेतले जानकारी दिनुभयो । उहाँले उक्त सडक निर्माण गर्न करिव पाँच करोड लाग्ने र त्यसको लागि अर्थमन्त्रालयमा प्रकृया अघि बढिसकेको समेत उललेख गर्नुभयो ।

भक्तपुरमा विजुली बक्ति तथा टेलिफोनका लाइनका कारण सडक निर्माण कार्यमा समस्या उत्पन्न भइरहेको बताउँदै उहाँले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत प्राधिकरणका कर्मचारीको सहभागिताको साथमा नगरपालिकाले आर्थिक व्यवस्थापन गरी पोलहरु दुई महिनासम्ममा मापदण्डभित्रका पोलहरु व्यवस्थापन गरी सक्ने समेत जानकारी गराउनुभयो ।

उक्त छलफलमा सांसद बस्नेतको साथमा मथिनपा उपमेयर अन्जना मध्यकर्मी, नेपाली कांग्रेसका युवा नेता अष्ट कुमार कवे, वडा अध्यक्ष रामकाजी चक्रधर, रघुनाथ खड्का, दिपेन्द्र थापा, यादव खड्का, राजाराम थापा क्षेष्ठ, अर्जुन खतिवडा, पि।आई।डी।का पदाधिकारीहरु र स्थानीय वडा बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com