सभाभुख श्रेष्ठबाट कोटदेवी सहकारीको भवन उद्घाटन

सुमन जि.सी.को अध्यक्षतामा नयाँ सञ्चालक समिति

काठमाडौं, १४ पौष । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले काठमाडौं महानगरपालिका—३२ जडिबुटी, कोटदेवीनगरमा करीव तीन करोड रुपैयाँको लागतमा निर्मित साढें चारतल्ले कोटदेवी वचत तथा ऋण सहकारी संस्थाको भवनको शनिबार उद्घाटन गर्नुभयो । साँढे चार आनामा बनेको सो भवनको हालको मूल्य करीव ७ करोड रुपैयाँ पर्ने संस्थाले जनाएको छ ।

कोटदेवी वचत तथा ऋण सहकारी संस्था लि.को आठौं वार्षिक साधारण सभा उद्घाटनका अवसरमा सभामुख श्रेष्ठले सो भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा संस्थाका कार्यकारी अध्यक्ष सुमन जि.सी.ले संस्थाले यो वर्षको असार मसान्तसम्म संस्थामा ६९५ जना सदस्य रहेको र ११ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन भएको र ११ करोड १६ लाख लगानी गरेको जानकारी दिनुभयो ।

कार्यकारी अध्यक्ष जि.सी.का अनुसार संस्थाले गत आर्थिक वर्षसम्म २३ लाख ३८ हजार नोक्सान बेहोरेकोमा चालु आर्थिक वर्षमा भने ५० लाख २५ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । वचतकर्ताहरुको सुविधाका लागि संस्थाको कार्यालय भवन जडिबुटीमा यसै वर्षदेखि एटिएम सेवा शुरु गर्ने तयारी गरिरहेको अध्यक्ष जि.सी.ले बताउनुभयो ।

साधारणसभा उद्घाटनका अवसरमा सभामुख श्रेष्ठले सहकारी संस्थाहरुले वचतकर्ता र लगानीकर्ताहरुको हीतको लागि मात्रै नभई संस्थाले सामाजिक उत्तरदायीत्व र आर्थिक विकासमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । सहकारी क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न प्रदेश सरकार पनि लागिपरेको उहाँले बताउनुभयो ।

त्यस अवसरमा संस्थाका सचिव जयन्ती कुमार ढकालले संस्थाको वार्षिक प्रतवेदन, कोषाध्यक्ष राजु श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक पुष्पराज श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक जर्नादन जि.सी., काठमाडौं वचत तथा ऋण सहकारी संस्था लि.का कमलराज अधिकारी लगायतले संस्थाको प्रगतीको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्लेको पनि सहभागिता थियो ।

आठौं वार्षिक साधारण सभाले वर्तमान कार्यकारी अध्यक्ष सुमन जि.सी.को अध्यक्षतामा आगामी चारवर्षका लागि ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा पुस्कर राउत, सचिवमा जयन्ती कुमार ढकाल, कोषाध्यक्ष राजु श्रेष्ठ तथा सदस्यहरुमा रघु श्रेष्ठ, सवि नारायण कायस्थ, सुरज श्रेष्ठ, चन्द्रावती केसी र राधा गुरुंग हुनुहुन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com