जब सांसदहरु कुचो लिएर मन्दीर पुगे ……

काठमाडौं, २६ पौष । बिहीबार विहान ८ बजे ३ नं प्रदेशका सांसदद्वय दिपेन्द्र श्रेष्ठ र गणेश दुलाल सडक बढार्ने कुचो (खरेटो) लिएर नयाँबानेश्वर चोक नजिकैको छक्कु बक्कु भगवती मन्दीरमा पुगेपछि वटुवा समेत छक्क परे ।

प्रहरी—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत महानगरको १० नं वडास्थित सामुदायीक प्रहरी सेवा लाखेचौरको पहलमा महानगरीय प्रही वृत्त नयाँबानेश्वरद्धारा आयोजित सरसफाई कार्यक्रममा सहभागी हुन सांसदद्वय श्रेष्ठ र दुलाल त्यहाँ पुगेका थिए ।

सांसदद्वयका साथै वृत्त तथा महानगरीय प्रहरी प्रभाग बुद्धनगर, सामुदायीक प्रहरी सेवाका प्रहरीका साथै सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरु, काठमाडौं महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गतका स्वास्थ्य स्वय्मसेविकाहरु पनि सो सरसफाई कार्यक्रममा सहभागी थिए । उनीहरुले छक्कुबक्कु भगवती मन्दीरको साथै नजिकै रहेको छक्कुबक्कु पार्कको पनि सरसफाई गरेका थिए ।

समुदायलाई फाइदा हुने सबै सामाजिक कार्यमा आफ्नो सहभागिता रहने सांसद दिपेन्द्र श्रेष्ठले बताए ।

गृह मन्त्रालयले गत कातिक महिनादेखि अघि सारेको प्रहरी—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम पनि एउटा कार्यक्रम भएको र आफ्नो टोलछिमेक सफा गर्नु सम्वन्धित टोलवासीको दायीत्व भएको सन्देश दिन सरसफाई कार्यक्रम आयोजना गरिएको महानगरीय प्रही वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।

सामुदायीक प्रहरी सेवाका प्रहरी लाखेचौरका इन्चार्ज प्रहरी हवल्दार तारा दयालले सामुदायीक प्रहरीले महानगरको १० नं वडामा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com