सर्वाेच्चकाे अन्तरिम आदेशपछि स्थानान्तरण गरेकाे सुमार्गीकाे खाता राेक्का राख्न निर्देशन

विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिनअघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन् । अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चको बैठकमा जानुअघि यस्तो निर्देशन दिएको बताएका थिए ।

राष्ट्रबैंकका एक उच्च अधिकारीले अर्थमन्त्री खतिवडाको मौखिक निर्देशन आएको जानकारी दिए । ‘सुमार्गीले रकम सारेको बैंकको खाता रोक्न अर्थमन्त्रीले मौखिक निर्देशन दिनुभएको हो,’ उनले भने, ‘लिखित रुपमा भने आइसकेको छैन तैपनि हामीले अदालतको आदेश र अर्थमन्त्रीको निर्देशनअनुसार काम अगाडि बढाएको छौं ।’ यो खबर नागरिक दैनिकमा छापिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com