डा. केसीले संसदिय पद्धतिलाई चुनौति दिनु अधिनायकवादी प्रवृत्ति : सांसद पहारी

पोखरा, १० माघ । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले लोकतन्त्र संसदिय पद्धतिमा चल्ने भएकाले नेपालको सर्वोच्चता रहेको संसद तथा संसदिय पद्धतिलाई चुनौति दिनु डा. गोविन्द केसीको अधिनायकवादी प्रवृत्ति भएको बताउनुभएको छ ।

आज पोखरा २४ गुन्टेचौर स्थित श्री सिद्ध बराहा आधारभुत बिद्यालयको ५२ औ बाषिकोत्वसलाई सम्वोधन गर्दै सांसद पहारीले डा. केसी आम नेपाली युवा विद्यार्थीको हित विपरित रहेको बताउनुभयो । उहाँले डा. केसीको मागले देशको ठूलो आर्थिक, योग्य, दक्ष युवा विदेशी भूमिमा जान बाध्य हुने बताउँदै समृद्ध नेपाल सुखी नेपाली बनाउन डा. केसीको माग गलत हुने बताउनुभयो ।

सांसद पहारीले डा. केसीको जायज मागलाई सरकारले सम्बोधन गरेको बताउनुभयो । चिकित्सा शिक्षा विधेयक संसदबाट पास हुनु नै डा. केसीको ठूलो उपलब्धी भएकाले केसीले विधेयक पास गर्दा खुसीको उत्सव बनाउने पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा विधि, प्रकृया तथा पद्धति हुन्छ, कुनै एउटा नेपाल सरकार मातहतको कर्मचारीले सरकारलाई चुनौति दिनु अधिनायकवादी प्रवृत्ती हो । नेपाली युवाहरुले देशमा नै प्राविधिक शिक्षा तथा डाक्टर बन्ने सपनालाई साकार बनाउने प्रकारको विधेयक बनाउनुपर्छ ।’

सांसद पहारीले विकास निर्माणका नाममा फेवाताल आसपासमा डोजरको प्रयोग गर्ने तर त्यसको स्थायी समाधान नगर्नाले बाढी तथा पहिरो तथा भु–क्षयका कारण फेवातालको क्षेत्रफल घट्नुका साथै तालको सुन्दरता गुमदै गएको बताउनुभयो ।

युवा संघ नेपालका निवर्तमान अध्यक्ष समेत रहनुभएका सांसद पहारीले असुरक्षित तवरले निर्माण गरिने सडक तथा संरचनाबाट निस्कने अनावश्यक वस्तु वर्षाको पानीले सिधै फेवातालमा पुर्याउने भएकाले अव विकास निर्माणका कार्य गर्दै सुरक्षित तथा आधुनिक प्रविधिको प्रयोग गरी गर्ने बताउनुभयो । फेवातालको आसपासमा असुरक्षित विकासका कारण संकटमा परेको बताउँदै आगामी दिनमा सुरक्षित, सुन्दर फेवाताल निर्माण गर्न स्थायी विकासको बाटो अवलम्बन गरिने बताउनुभएको छ ।

त्यस्तै सांसद पहारीले देशमा शिक्षामा रहेको विभेदलाई अन्त्य गराउनुपर्ने बताउँदै व्यवहारीक तथा प्राविधिक शिक्षामा जोड दिनुभयो । शिक्षा संरचनामा हुने खाने र हुँदा खाने बीचको शैक्षिक खाडलको अन्त्य गराउनु पर्नेमा उहाँको जोड रहेको थियो ।

उहाँले शुद्ध खानेपाीबाट कोही पनि बञ्चित हुनु नहुने भन्दै सांसद पहारीले आफ्नो जीवनको सामाजिक विकास निर्माणको कार्य मध्ये मूख्य रुपमा शुद्ध खानेपानीको विकास र विस्तार गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले उक्त विद्यालयमा शुद्ध खानेपानीको अभावलाई न्युनिकरण गर्ने उद्देश्यका साथ एक थान युरो गार्ड हस्तान्तरण समेत गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com