विद्यार्थीद्वारा कन्चनपुर अनिश्चितकालिन बन्द

महेन्द्रनगर, १५ माघ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका पक्की संरचना भत्काउनुपर्ने माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन कञ्चनपुर बन्द घोषणा गरिएको छ ।

अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले गरेको कञ्चनपुर बन्दका कारण महेन्द्रनगर बजार पूर्ण रुपमा बन्द भएको छ । बन्दका कारण बजार व्यवसाय, विद्यालय, सरकारी कार्यालय, सवारीसाधन लगायतका सम्पूर्ण संस्घ संस्थाहरु बन्द भएका छन् ।

अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित भएको छ । अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा नै अलपत्र परेका छन् ।

एक महिना अघिदेखि नै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदासमेत नसुनेपछि बाध्य भएर बन्दको कार्यक्रम गर्नु परेको अनेरास्ववीयु कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले बताउनुभयो ।

नगर विकास समितिको स्वामित्वमा रहेको जमीनको अवैध लिज खारेजी, मापदण्ड विपरीत निर्माण गरिएका संरचना भत्काउनुपर्ने, कानुनी प्रक्रिया नपुर्‍याइ आफूखुसी जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमीनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने आन्दोलनरत युवा विद्यार्थीले आवाज उठाई रहेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com