भक्तपुरमा बजेटको अभावले विकास रोकिदैंन : सांसद बस्नेत

भक्तपुर, २० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा बजेटको अभावले भक्तपुरमा निर्माण प्रकृयामा रहेका कुनै पनि विकास निर्माणका कार्यहरु नरोकिने बताउनुभएको छ ।

शनिवार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटको दक्षिण बाराही सामुदायीक बनमा निर्माण गर्न लागिएको पार्कको शिलान्यास गर्दै सांसद बस्नेतले पाँच वर्ष भित्रमा भक्तपुरको मुहार फेरिने दावि गर्नुभयो । उहाँले केन्द्रीय राजधानीसँग जोडिएको जिल्ला भक्तपुर भएता पनि विगतमा खासै उल्लेख्य विकास हुन नसकेको भन्दै अब विकास निर्माण मात्र नभई सभ्य, सुरक्षित, सफा, हराभरा, पर्यटकिय तथा विकसित जिल्लाको रुपमा नेपालको अग्रणी जिल्ला हुने बताउनुभयो ।

२२ रोपनी जग्गामा करिब चार करोडको लागत लाग्ने उक्त पार्कको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले राज्यको पूनःसंरचनाका साथ विकासले गति लिएको बताउँदै हनुमन्ते करिडोर नेपालको इतिहासमा नै सवैभन्दा छोटो समयमा नै निर्माण कार्य भइरहेको बताउनुभयो ।

उहाँले सार्वजनिक जग्गा वा सम्पतीलाई व्यक्तिको नाममा लाने नराम्रो प्रवृत्तिलाई अन्त्य गरी सवै सार्वजनिक समपत्ती व्यक्तिको नामबाट फिर्ता ल्याउनुपर्छ समेत बताउनुभयो । उहाँले भक्तपुरका सवै प्रकारका विकृति तथा विसंगतीलाई अन्त्य गर्न आफु लागि परिरहेको बताउँदै सुसस्कृति समाज निर्माण गर्नु अहिलेको अपरिहार्यता भएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा सफाई, उज्यालो अरनिको राजमार्ग, कोटेश्वरको जाम नियन्त्रण गर्न करिडोर तथा वेलिव्रीज, सभागृह, प्राणी उद्यान केन्द्र, आधुनिक वीर अस्पताल, अन्तर्राष्ट्रिय रंगशाला, सुरुङ मार्ग लगायतका धेरै राष्ट्रिय योजनाहरु निर्माणको प्रकृयामा रहेकाले अवका दिनमा भक्तपुरले मुहान फेर्नेमा सवै नागरिकमा ढुक्क हुन आग्रह गर्नुभयो

मानसिक असन्तुलनका कारण समाजमा विभिन्न प्रकारका समस्याहरु आउने बताउँदै सांसद बस्नेतले कुनै पनि विकास निर्माणका कार्यहरु गर्दा प्राकृतिक सिमाङ्कनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक विपत्तिका लागि सुरक्षाका सामाग्रीका दृष्टिले उत्कृष्ट रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले दक्षिण बाराही हुँदै लुभु जाने सडकमा प्रदेश सरकारले पाँच करोडको योजना पारी काम शुरु भएको बताउनुभयो । त्यस्तै संघिय सरकारबाट यो हप्ता थिमी तर्खाल जाने सडकको लागि तीन करोड पार्न सफल भएको जानकारी गराउनुभयो । त्यस्तै पाँचवटा सडकमा तीन करोडका दरले १५ करोड छुट्याउन सफल भएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com