आज सोनाम ल्होछार, बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं, २२ माघ । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन यो पर्व मनाइन्छ । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो ।

ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहने छ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो ।  आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

नेपालका तामाङसहित आज चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशहरुमा नयाँ वर्ष मनाइँदैछ ।

उक्त पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com