पत्रकारीता सरकारको प्रतिपक्षि होइन, तथ्यपुरक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यथार्थपूरक समाचार सम्प्रेशण गर्नु एउटा सफल पत्रकारीताको मर्म भएको बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उहाँले तीन वटै सरकारको काम कारवाहीलाई बास्तविक रुपमा जनताको सामु पुर्याउनु अहिलेको अपरिहार्यता भएको बताउँदै सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय पत्रकारीतामा आधारहिन कुराहरुलाई जनतामाझ पुर्याई नकरात्मक सन्देश प्रवाह गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारीताको कलम कसैको लोभ लालच तथा सरकारको प्रतिपक्षिको रुपमा काम गर्नु नहुने भन्दै वास्ताविक तथा तथ्यपुरक कुरामा समाचार सम्प्रेषण गर्न सम्पूर्ण मिडियाकर्मीलाई आग्रह समेत गर्नुभयो ।

संसदीय प्रणालीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नयाँ अभ्यास भएकाले सञ्चार क्षेत्रले यसका गतिविधिलाई वैज्ञानिक ढङ्गले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सञ्चार क्षेत्रले सरकार र जनताबीचको पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com