पत्रकार महासङ्घद्वारा न्यूनतम पारिश्रमिकबारे अनुगमन
काठमाण्डौ, २६ माघ । नेपाल पत्रकार महासङ्घले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिकबारेमा अनुगमन गर्ने भएको छ ।
आइतबारदेखि श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघले जनाएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले निर्धारण गरेको नयाँ पारिश्रमिकअनुसार ‘क’ श्रेणीका राष्ट्रिय सञ्चारगृह अन्तर्गत काम गर्ने पूर्णकालीन पत्रकारको आधारभूत तलब २४ हजार ५ सय रुपैयाँ हुनुपर्ने छ ।
यस्तै, पत्रकार महासंघले विभिन्न प्रदेश र स्थानीय तहका आमसञ्चार नीति तथा विधेयकमा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने प्रावधान रहेको पाइएकाले त्यस्ता प्रावधान तत्काल सच्याउनसमेत माग गरेको छ ।