सभापति पालद्वारा ४ बर्षिया सुनारलाई अध्ययन गर्न लाग्ने सवै शुल्क व्यहोर्ने घोषणा

काठमाडौँ, २७ माघ । प्रतिनिधिसभा महिला तथा सामाजिक सभापति निरुदेवी पालले कञ्चनलपुकी चार वर्षिया प्रिया सुनारलाई शिशु कक्षा देखि माध्यमिक कक्षासम्म अध्ययन गर्न लाग्ने सवै शुल्क व्यहोर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो छोरी समेत नभएका कारण गरिव दलित परिवार सुनारलाई कक्षा १० सम्म लाग्ने कापी, किताव, फि लगायतका सम्पूर्ण खर्चहरु आजकै दिनदेखि उहाँ आफैले व्यहोर्ने घोषणा गर्नुभएको हो ।

श्री महाकाली बाल विद्यालय (सामुदायीक बोर्डिंग) माझगाउँ कञ्चनपुरको २७औं वार्षिकोत्सवको अवसमा उहाँले उक्त सुनारलाई निशुल्क पढाउने घोषणा गर्नुभएको हो ।शिक्षाको मानिसको नैसर्गिक अधिकार भएको भन्दै सभापति पालले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारले शिक्षामा हुने खाने र हुँदा खानेबीचको खाडललाई अन्त्य गराउने समेत बताउनुभयो ।

उहाँले आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई लक्षित गर्दै सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने समेत जानकारी गराउनुभयो । उहाँले कुनै पनि सरकारी तथा गैरसरकारी विद्यालय गैरनाफामूलक हुनु पर्ने समेत बताउनुभयो ।

शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै देशमा नै व्यवहारिकमुखी शैक्षिक पद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै सभापति पालले देशको आवश्यकता अनुसार वर्तमान समयमा व्यवहारिक तथा प्राविधिक शिक्षाको आवश्यकता रहेको औल्याउनुभयो ।

शिक्षा नै देश विकास र समृद्धिको मूख्य मेरुदण्ड भएको बताउँदै सभापति पालले देशमा नै दक्ष जनशक्तिको विकास र विस्तार गरी योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्नु देशको अनिवार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले योग्य, दक्ष तथा क्षमतावान युवालाई आफ्नै देश विकासमा लगाउन सके मात्र देशको समृद्धि तथा आर्थिक वृद्धिदर उच्च हुने धारणा व्यक्त गर्नुभयो ।

उच्च शिक्षा तथा प्राविधिक शिक्षाको खोजीमा लाखौं युवाहरु विदेशीनु परिरहेको अवस्थामा त्यसलाई रोक्नु अनिवार्य भएको बताउनुभयो । उहाँले नेपालबाट लाखौं युवाहरु शैक्षिक विकासको लागि विदेश जाँदा ठूलो आर्थिक घाटा देशलाई परिरहेको बताउँदै बर्तमान सरकारले युवा तथा विद्यार्थीलाई आत्मानिर्भर तथा रोजगारीमूलक नीतिका साथ अघि बढिरहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य समेत रहनुभएको सभापति पालले उक्त विद्यालयको लागि पुस्तकालय निर्माण गर्ने जिम्मा समेत लिनुभएकोे छ । त्यस्तै उहाँले पुस्तकालय निर्माण गर्न आफुले पाउने एक महिनाको सरकारी सेवा वापत पाउने रकम समेत उक्त पुस्तकालय निर्माणको लागि दिने घोषणा समेत गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com