सवारी दुर्घटना रोक्न ट्राफिक कम्युनिकेसन एप

बुटवल, २८ माघ । नेपाल प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ ।

पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको हो।

बिशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । एप प्रयोगमा आएपछि लामो दूरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने छ ।

एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर,प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । उक्त विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने साथै एपमा चालकको लाइसेन्स नम्बर, टाइम कार्ड समेत चेक गर्ने सुविधा रहेको छ ।

संयुक्त राष्ट संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मान्छे सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । नेपालमा एक वर्षमा २५ सय ९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com