सरकारले समृद्ध मुलुक बनाउँदैन भन्नेले भक्तपुरको विकास आएर हेरे हुन्छ : सांसद बस्नेत
भक्तपुर, १ फागुुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा/प्रभावशाली नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाको सरकारले मुलुकलाई समृद्ध बनाउँदैन भन्नेले भक्तपुरको विकासलाई आएर हेरी विकास र समृद्धिको बाटो सिक्नलाई आग्रह गर्नुभएको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषी सडक सामुदायीक पहुँच सुधार परियोजना अन्तर्गत सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डु र वडा नं. ४ दधिकोट जोड्ने गोकुलघाट माहादेब खोला पक्की पुलको आज शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले एक वर्षको भक्तपुरको विकासले समृद्ध नेपाल निर्माणको खाका तयार गरेको बताउनुभयो ।
उहाँले मुलुक समृद्ध बनाउनको लागि प्रधानमन्त्रीलाई कुनै गाली गर्नु जरुरी नभएको बताउँदै विकास र समृद्धिमा प्रमको योजना तथा भावना पुरा गर्न सवै जनप्रतिनिधि, राजनीतिक दल तथा आम नागरिकहरु विकास निर्माणमा एक ढिक्का भई लाग्नुपर्ने बताउनुभयो ।
पाँच वर्षमा देशको विकसित जिल्लाको रुपमा भक्तपुर जिल्ला हुने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरबाट देशभरका जनप्रतिनिधिलाई विकासको मोडल मात्र तयार गर्ने नभई उदाहरणीय जिल्ला बन्ने समेत बताउनुभयो ।
भक्तपुरमा हार्डवेयरको मात्र होइन सफ्टवेरको पनि विकास गर्नुपर्ने बताउँदै भक्तपुरमा १७ वटा पुलहरु निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा अब भौतिक संरचनामात्र नभई मानसिक तथा सामाजिक विकासलाई अघि बढाइरहेको बताउँदै अरनिको राजमार्ग तथा हनुमन्ते नदी सफाई अभियान नै भक्तपुरको विकासको परिपुरक भएको बताउनुभयो ।
सडक निर्माण हुनु नै भक्तपुरको सभ्यता बढेको बताउँदै उहाँले भौतिक निर्माणको साथमा मानिसले सभ्य नागरिक, अतिक्रमण नगर्ने, विकृती विसंगती नगर्ने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । भक्तपुरका सवै नगरपालिकाका प्रत्येक वडामा मुल सडकसँग जोडिने बताउँदै एक वडा एक मुल सडक अनिवार्य रहेको बताउँदै उहाँले यो वर्षमात्रै भक्तपुरमा करिव २५ किमि सडक निर्माण सम्पन्न हुने समेत बताउनुभयो ।
सडकमा निर्माण सामग्रीहरु राखेका कारण सवारी दुर्घटनाको जोखिम उच्च हुनुको साथै वातावरणीय प्रदुषण समेत अत्याधिक हुने गरेको बताउँदै सांसद बस्नेतले निर्माण सामग्री सडकमा राखेकै कारण सडक अतिक्रमण भएको समेत बताउनुभयो ।
कुनै पनि काम गर्दा कानुनको ज्ञान नभएकाले यो वा त्यो गरे भन्ने छुट कसैलाई नभएको बताउँदै उहाँले सडकमा निर्माण सामग्री थुपार्नेलाई तीन वर्षसम्म कैद हुन सक्ने ऐनमा उल्लेख भएको समेत जानकारी गराउनुभयो ।
भक्तपुरमा हनुमन्ते करिडोरमा दुवै साईड गरी ६ किमि बाटो निर्माण प्रकृयामा रहेको जानकारी गराउँदै उहाँले सडकबाट करिव ५० करोड रकम बराबरको योजना तयार भइरहेको समेत जानकारी गराउनुभयो । उहाँले पेप्सीकोला सल्लाघारी, पलासे सिपाडोल, बालकुमारी देखि रानीकोट लगायतका धेरै सडकहरु निर्माणको प्रकृयामा रहेको बताउनुभयो ।
भक्तपुर शिक्षाको हवका रुपमा विकास हुने बताउँदै सांसद बस्नेतले भक्तपुरमा भवन पुनःनिर्माण तिव्र गतिमा भइरहेको बताउनुभयो । जनताको साथ र सहयोगले नै भक्तपुरलाई नमुना जिल्ला बनाउन सफल भएको बताउँदै उहाँले विद्यालय निर्माण गर्नु ठूलो कुरा नभएको बताउँदै विद्यालयमा गुणस्तरिय शिक्षा दिन सक्छ कि सक्दैन भन्ने मुख्य कुरा रहेको बताउनुभयो ।
भक्तपुर सफा, सुन्दर, सुरक्षित, चम्कीलो, शिक्षाको गन्तव्य, स्वास्थ्यको गन्तब्य हुने बताँउदै उहाँ भन्नुभयो, ‘ भक्तपुरमा आगामी वर्षहरुमा सामुदायीक विद्यालयका भवनहरु कही जिर्ण छन् ? भनि सोध्दा छैन भन्ने अवस्थामा रहेको, आगामी वर्षदेखि पुल कहाँ चाहिन्छ ? भन्दा पुल चाहिँदैन भन्ने अवस्था पुग्ने छ ।’
पर्यटनको हवको रुपमा विकास गर्ने बताउँदै सांसद बस्नेतले पर्यटनको माध्यमबाट भक्तपुरको कुनै पनि नगरपालिकाले एक वर्षमा कम्तिमा एक अर्बको आम्दानी गर्ने कार्यक्रमहरु तयार भइरहेको बताउनुभयो । उहाँले निलवाराही क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने समेत बतउनुभयो ।
उहाँले दक्षिण बाराही, कमेरोटार लगायतका स्थानहरुमा पार्क निर्माणको कार्य अघि बढेको बताउनुभयो । जडिवुटी प्रशोधन केन्द्रको विकास गर्न करिव एक अर्व रुपैया पार्न सफल भएको बताउँदै उहाँले भक्तपुरमा आधुनिक तरकारी बजारको विस्तार गर्ने बताउनुभयो ।
शुक्रवार मध्यपुर हस्पीटलको पुलबाट अरनिको राजमार्गको दुई महिना र हनुमन्ते नदीको ५१आंंै हप्ताको कार्यक्रम यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान भब्य रुपमा मनाउने तयारी भइरहेको जानकारी गराउँदै उहाँले उक्त दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाशमान सिं, राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको उपस्थितीमा करिव दुई हजार जना भन्दा बढीले वाकाथुन गर्ने, झण्डोत्तलन गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने समेत जानकारी गराउनुभयो ।
उक्त पुल करिव ९८ लाखको लागतमा यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको छ ।