प्रधानमन्त्री रोजगार कार्यक्रम : युवा विद्यार्थीद्वारा भब्य स्वागत

काठमाडौँ, २ फागुन । रोजगारीको लागि भौतारिरहेका आम नेपाली युवा तथा विद्यार्थीलाई लक्षित गर्दै सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा तथा विद्यार्थीले भब्य रुपमा स्वागत गरेका छन् ।

बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा एक भब्य कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ । कार्यक्रमको पक्षमा आम युवा तथा विद्यार्थीहरु स्वागत तथा समर्थनको विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय सभा गृहमा नाराजुलुश सहित प्रवेश गरेका थिए ।

सरकारले रोजगारीको खोजीमा विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्ने भन्दै सफल कार्यान्वयनमा लाग्नुपर्ने बताए । देशमा नै रोजगारीको ग्यारेन्टी भएमात्र समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने भन्दै युवा तथा विद्यार्थीले आफ्नो भाग्य र भविष्य सुनिश्चित भएको समेत बताए । “प्रधानमन्त्री रोजगार कार्यक्रम” बेरोजगारीको मारमा परी आत्मविश्वास र स्वःमहत्व गुमाई भौंतारिएर हिड्नुपर्ने कुण्ठा र निराशामा पिल्सिएका युवाहरूको आशा र भरोसा बन्ने छ ।

सरकारले ल्याएको प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत कृषि, सहकारी तथा पशु विकासअन्तर्गत शीत भण्डार निर्माण, कृषि उपजको ‘प्रोशेसिङ प्लान्ट’ निर्माण, परम्परागत र प्लास्टिक पोखरी निर्माण, कृषि उपजको संकलन तथा बेचबिखन केन्द्र निर्माण, पर्ती जग्गामा खेती, खाली जग्गामा फलफूलका विरुवा रोप्ने, सामूहिक तथा सहकारी खेती, व्यावसायिक खेती तथा पशुपालन, कृषि वन कार्यक्रम, सहकारी संस्थालगायतमा रोजगारी सिर्जना गरिने छ ।

ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण, कूलो, बाँध, पैनी तथा नहर निर्माण एवं मर्मत सम्भार, जलविद्युत् आयोजना र ट्रान्समिसन लाइन निर्माण तथा मर्मत सम्भार, नदी नियन्त्रण, पहिरो नियन्त्रण, खानेपानी तथा सरसफाइ, मुहान संरक्षण, पाइप बिछ्याउने, ट्याङ्की निर्माण, धारा निर्माण, सरसफाइ अभियान, शौचालय निर्माण, ढल निर्माण तथा मर्मत सम्भारका क्षेत्रबाट रोजगारी प्रदान गर्न सकिने छ ।

वृक्षरोपण, वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत ‘थिनिङ’, ‘प्रुनिङ’, अग्नि रेखा निर्माणलगायत कार्य, खाली जग्गामा फलफूलका बिरूवा रोप्ने, सडक र नदी खोला किनारमा रुख रोप्ने, गैरकाष्ठजन्य वन पैदावार उत्पादन, व्यावसायिक निजी वन, निजी वन नर्सरी, जडीबुटी खेती, प्रशोधन र बजारीकरण, कृषि वन, वन पैदावारमा आधारित उद्योग स्थापना, बायो इन्जिनियरिङ प्रविधि, संरक्षण पोखरी निर्माण, वातावरण संरक्षण तथा जलवायु अनुकूलनका क्षेत्रबाट समेत बेरोजगारीलाई रोजगारी प्रदान गर्न सकिने सरकारको भनाइ छ ।

पर्यटकीय पदमार्ग, पर्यटन मार्गको निर्माण तथा मर्मत सम्भार, होटल तथा रेष्टुरेन्ट व्यवसायको प्रवर्द्धन, पर्यटन मार्गमा सेड निर्माण तथा होमस्टेलगायत ग्रामीण पर्यटन, पर्यापर्यटनका क्षेत्रमा रोजगारी सिर्जना हुनेछन् । सडक यातायात, शिक्षा, युवा तथा खेलकूद, पुनःनिर्माण, सामुदायिक पूर्वाधार निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाको स्थानीयस्तरमा हुने निर्माण तथा मर्मत सम्भारलगायत काममा रोजगारीको अवसर प्रदान गर्न सकिने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com