आज ‘भ्यालेन्टाइन डे’, विश्वभर मनाइँदै

काठमाडौं, २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।

हरेक फेब्रवरी १४ मा प्रेम दिवस मनाइने गरिन्छ । प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो ।  विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत् २६९ रोमनबाट सुरु भएको हो ।

रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा भ्यालेन्टाइनको एक जना दृष्टिविहीनसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिकालाई दिएका थिए । साथै उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । गुलावको फूल उपहार दिएर प्रेम प्रस्ताव राख्ने साथै  श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरेर मनाइने  गरिन्छ ।  मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत प्रेम दिवसलाई लिईन्छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com