राष्ट्रपति भण्डारीद्वारा ‘नेपाल उद्यमशीलता शिखर सम्मेलन’ उद्घाटन

काठमाडौं, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल उद्यमशीलता शिखर सम्मेलन २०१९’ काठमाडौंमा उद्घाटन गरेकी छन ।

बिहीबार सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नवीन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि बताएकी छन ।

“देशको समग्र विकासलाई दृष्टिगत गर्दा हामीसँग भएका स्रोतसाधनको दिगो र उचित विकास गरी निर्यात प्रवद्र्धन गर्नुपर्र्ने मुख्य जिम्मेवारी देखिएको छ, यी कार्य सम्भव गराउन युवाले नवीनतम सोच र नवीन प्रविधिको प्रयोगबाट विश्व बजारमा प्रतिष्पर्धा गर्ने क्षमता राख्नुपर्छ  ।”

सरकार व्यवसायीसँग छलफलका लागि जुनसुकै समयमा पनि तयार रहेको बताउदै उनले भनिन, “अबको अर्थतन्त्रको लक्ष्य भनेको आयातमुखी होइन, निर्यातमुखी हुनुपर्छ ।”

उनले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com