सरकारको निर्णय नमान्नु अधिनायकवादी शैलि : सांसद बस्नेत

भक्तपुर, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले देशमा भ्रष्टाचार, घुसखोरी तथा अनियमितता लगायतका कालो काम गर्ने मानिसको शरिर पनि कालो नै हुने भन्दै मिडियाले त्यस प्रकारका कार्यको भण्डाफोर गर्नु देशकै लागि ठूलो उपलब्धी भएको बताउनुभयो ।

रारष्ट्रय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा आइतवार रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेजको मुद्धा मिलाइदिने बहानामा ७८ लाख घुस लिएको बास्तविकता उजागर गरेकोमा मिडियालाई उच्च प्रशंसा व्यक्त गर्दै आयुक्त पाठकलाई हदैसम्मको कानुनी कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले एउटा सामाजिक संस्थाको रुपमा दर्ता रहेको नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्ने निर्णय गरेकोे बताउनुभयो । उहाँले कलेजमा पढ्ने २२०० विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको कलेजको सवालमा संघिय संसदको समिति तथा सर्वोच्च अदालतको फैसला नै जनताको जित भएको बताउँदै उहाँले कलेजमा भएको भ्रष्टाचार, अनियमितता, वेथिति लगायतका विरुद्धमा नगरपालिकाले ऐतिहासिक निर्णय लिदैं नगरपालिकाले नै उक्त कलेज सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले जनताको विकाससँग प्रत्यक्ष सहकार्य तथा संलग्न स्थानीय तह नै हुने बताउँदै सांसद बस्नेतले जनताको पहँुच पनि स्थानीय तहमा नै रहने भएकाले स्थानीय तहलाई बलियो स्रोत साधनयुक्त बनाउन सवै मिलि अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सरकारले पर्यटक प्रवेश शुल्क लिन नपाउने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले ढाट राखेर प्रवेश शुल्क भनि प्रत्येक पर्यटकसँग रु १५ डलर उठाउने गरेको बताउँदै प्रदेश तथा संघिय सरकारको निर्देशन मान्दिन, म जे गर्छु त्यो नै अन्तिम निर्णय हो भन्नु नगरप्रमुखको अधिनायकवादी शैलि भएको बताउनुभयो ।

देशको संविधान तथा कानुनभन्दा माथि कोही नहुने भन्दै सांसद बस्नेतले सल्लघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा विना अनुमति पर्खाल लगाउने कार्य शुरु गर्नु नगरपालिकाले अनौतिक कार्यमात्र नभई नेपालको संविधान तथा कानुनलाई नै आफ्नो हातमा लिने प्रयास गरेको बताउनुभयो ।

भक्तपुको पहिचानको रुपमा रहेको हनुमन्ते नदीमा सबैभन्दा बढी ढल मिसाई फोहोर गर्ने कार्य भक्तपुर नगरपालिका भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सफाई अभियानमा भक्तपुर नगरपालिका सफाईमा सहभागिता नजनाउनु समग्र भक्तपुरको विकास र समृद्धिको विरोधी भएको बताउनुभयो ।

उहाँले हनुमन्ते नदी सफाईको ५१औं हप्ताको विशेष अवसरमा राष्ट्रिय स्तरमा सन्देश प्रवाह गर्ने मूख्य उद्देश्यका साथ सल्लाघारीको ट्राफिक आइलाईनमा राष्ट्रिय झण्डोत्तलन गर्ने कार्यलाई समेत प्रतिरोध गर्ने चेतावनी दिनु आम भक्तपुरवासीको विकासको चाहनामाथि कुठाराघात गर्ने घृणित प्रयास भएको तर त्यो भक्तपुरका जनताले सहजै रुपमा असफल बनाइदिएको समेत बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सदनमा जिल्ला समन्वय समिति भङ्ग गर्नुपर्छ भन्दै घृणित अभिव्यक्ति दिएकोमा आपत्ति समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा मिडियाको पनि मिडिया राष्ट्रिय समाचार समिति भएको बताउँदै रचनात्मक तथा विकास निर्माणका कार्यहरुको ब्यापक मात्रामा प्रचार प्रसार हुनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले समाचारको माध्यमबाट कहिले काहीँ काम गर्दा भएको गल्तीलाई रचनात्मक ढंगले सच्याउने अवसर दिनुपर्ने बताउनुभयो ।

राससलाई अझ बढी विश्वसनिय र प्रभावकारी बनाउन ऐन तथा कानुन निर्माण गर्न आफ्नो सदैब साथ र सहयोग रहने बताउँदै उहाँले संविधान, ऐन कानुनले दिएको हक अधिकारहरुलाई समाचारको माध्यमबाट संस्थागत तथा कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com