अराजक गतिविधि गर्ने कसैलाई छुट छैन : सांसद बस्नेत

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा विकासको महाअभियान अघि बढेको र अब कसैले रोकेर नरोकिने बताउनुभएको छ । उहाँले राष्ट्र, राष्ट्रियता तथा अखण्डता विरुद्ध गतिविधि गर्ने कसैलाई छुट नभएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने चरखण्डी खोलाको पूल निर्माणको शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले राष्ट्रिय अखण्डता, स्वाधिनता, मूलुकमा अशान्ति, द्वन्द्व फैलाउने, जातीय, क्षेत्रीय विभेद फैलाउने, अराजक तथा अपराधिक गतिविधि गर्ने लगायतका गैरकानुनी रुपमा गरिने गतिविधिको विरुद्धमा सूचना प्रविधिको ऐन आएको जानकारी गराउनुभयो ।

सरकारको मनसाय सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने नभएको बताउँदै उहाँले अहिले जुन ढंगले यसको दुरुपयोग भइरहेको छ त्यसलाई नियमन गर्ने मात्र भएको बताउनुभयो । अहिले नेपालमा फेसबुकले मात्र ३३ अर्ब आम्दानी गर्ने गरेको बताउँदै सांसद बस्नेतले नेपालमा यसको प्रभावकारी अनुगमन हुन नसक्दा ठूलो राशीको कर विदेशिएको समेत उहाँले जानकारी गराउनुभयो ।

उहाँले अल्पकालिन तथा दिर्घकालिन रुपमा भक्तपुरमा विकासमा अघि बढेको बताउनुभयो बताउँदै नयाँ युगमा नयाँ प्रविधिमैत्री विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

जनताको काममा समर्पित हुने हो भने हार र जीतको अन्तर नभएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नयाँ शहर जसका कारण रोजगारी, स्वास्थ्य, शिक्षा, सडक, सञ्चार लगायतका व्यापक विकास हुने दाव गर्नुभयो । उहाँले प्राणी उद्यानको माध्यमबाट पर्यटनको विकासमात्र नभई आर्थिक वृद्धिदरलाई समेत मजबुद बनाउने बताउनुभयो ।

जनताको सेवा नै राजनीतिको धर्म रहेको बताउँदै उहाँले भन्नुभयो, ‘विकासमा पक्ष विपक्ष हुनु हुँदैन र विकास निर्माण कार्यमा मैले चुनावमा हारेँ भन्ने मनिस्थिति कुनैपनि हालतमा पाल्नु हुँदैन ।’ सांसद बस्नेतले भक्तपुरलाई सफा, स्वच्छ, सुरक्षित र सूचनाप्रविधियुक्त शहर निर्माण गरिने बताउनुभयो । उहाँले बालकोट, सिरुटार, दधिकोट गुण्डु क्षेत्रलाई समेटेर एउटा स्मार्ट सिटी तथा सिपाडोल, नंखेल, ताथली, चित्तपोल समेटेर अर्को आधुनिक शहर निर्माण प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो ।

उहाँले भक्तपुरमै ५० हजार क्षमताको अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै अर्को ५ हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहल निर्माण प्रक्रिया पनि अगाडि बढेको बस्नेतले बताउनुभयो । उहाँले यो बर्ष मात्रै भक्तपुरमा साना ठूला गरी १५ वटा पुल निर्माण प्रक्रिया अगाडि बढेको बताउँदै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका भौतिक निर्माणमा मात्र यो बर्ष २ अर्ब भन्दा बढी बजेट आएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com