पातञ्जल योग समिति नेपाल प्रदेश नं ५ ले रुपन्देही जिल्लामा योग प्रशिक्षक प्रशिक्षण तालिम शुभारम्भ

रुपन्देही, १३ फागुन । पातञ्जल योग समिति नेपाल प्रदेश नं ५ ले रुपन्देही जिल्ला भित्रका प्रत्येक कुना–कुनामा योगजागरण अभियान सञ्चालन गर्ने उद्धेश्य हेतु सयौं योग साधकहरुकाबीच योग प्रशिक्षक प्रशिक्षण तालिमको शुभारम्भ गरेको छ ।

तालिम उद्घाटन समारोहकाबीच बुटवल उपमहानगरपालिका प्रमुख गुमा देवी आचार्यले मैले पनि योग क्षेत्रमा योग प्रशिक्षकको तालिम लिई रहँदा योग/साधना क्षेत्रको आन्तरिक वस्तुस्थिति नजिकैबाट नियालेको विषयमा आफ्नो धारणा राख्दै पातञ्जल योग समिति नेपालको अभियानमा बुटवल उपमहानगरपालिका आवाश्यक सहकार्यका साथ अघि बढ्न हरबखत तयार रहेको उद्घोष गर्नुभयो र पातञ्जल योगको अभियानको सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं ९ र ११ का वडाध्यक्ष द्धय विष्णु थापा एवं रामचन्द्र क्षेत्रीले पातञ्जल योग समिति नेपालसँग आवाश्यक समन्वय, सहकार्यका साथ वडाबाट जग्गाको पहिचान गराई योग भवन बनाउनको लागि तत्काल आवाश्यक गृहकार्यको थालनी गरिने विषयमा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य दिपक प्रसाद नेपाल, केन्द्रीय सदस्य योग प्रसाद आचार्य, केन्द्रीय सदस्य दिर्घराज गिरी, केन्द्रीय सदस्य एवं प्रदेश नं. ५ का सचिव डा. प्रकाश पाण्डे लगायतका वक्ताहरुले योग र यसको महत्व तथा पातञ्जल संस्था र यसको भावी योजनाको बारेमा प्रकाश पार्नु भएको थियो ।

पातञ्जल योग समिति, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष रोमलाल पुरीले सञ्चालन गर्नु भएको तालिम उदघाटन कार्यक्रममा सहभागी सम्पूर्ण योग प्रेमीहरुलाई प्रदेश नं ५ का कोषाध्यक्ष विष्णु काफ्लेबाट स्वागत गरिरहँदा ८५ जना योग साधकहरुले प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीता जनाएको सो तालिम कार्यक्रमका संयोजक एवं प्रदेश नं ५ का अध्यक्ष लोकेन्द्र न्यौपानेले अवगत गराउनु भएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com