कास्कीमा पातञ्जल योग समितिको वृहत योग शिविर कार्यक्रमको शुभारम्भ
भक्तपुर, १४ फागुन । पातञ्जल योग समिति नेपालले कास्की जिल्लामा एक वृहत योग शिविर कार्यक्रमको शुभारम्भ गर्दै पातञ्जल योग समिति नेपालको अभियानलाई तिव्रता दिएको छ ।
नेपाल सरकार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गबाट उद्घाटन गर्दै आरम्भ गरिएको सो शिविरमा मन्त्री गुरुङ्गले पातञ्जल योग समिति नेपाल परनिर्भरताबाट आत्मनिर्भरता तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले यही दिशाबाट निरन्तर योग जागरण अभियान अघि बढिरहोस भन्ने शुभकामना प्रकट गर्नुभयो ।
मन्त्री गुरुङ्गले योग व्यायमको रुपमा मात्र रहेको प्रसङ्ग कोट्याउँदै यसलाई अध्यात्मिक पक्षसँग मिश्रण गरेर लैजादा यसले समाज रुपान्तरणमा पनि थप टेवा पुग्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।\
पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य प्रदिप श्रेष्ठले कास्की जिल्लामा पातञ्जल योगको विजारोपण हुन लागेको बताउनुभयो । त्यस्तै उहाँले तपाई हामी सम्पूर्ण यस अभियानमा हातेमालोका साथ मलजल गर्दै यसलाई वृक्षको रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।
उहाँले शिविर सञ्चालनमा सहयोग पू¥याउनु हुने सम्पूर्णलाई धन्यवादका साथै प्रदेश सरकारबाट योगजागरण अभियानको कार्यक्रमलाई विस्तार गर्न आवाश्यक बजेट उपलब्ध गराउन माग समेत गर्नु भएको थियो ।
पतन्जली योग समिति कास्की जिल्लाका संस्थापक अध्यक्ष शिव पौडेलले म आफु पतञ्जली योग समितिको योग साधक बनिरहँदा सम्पूर्ण पक्षको निर्णय हरिद्धारबाट भैरहने अवस्था चलिरहेको वर्तमान परिवेशमा स्वदेशमै नेपाल सरकारसँग आवद्ध बनि आरम्भ भएको पातञ्जल योग समितिको अभियानले सम्पूर्ण देशप्रेमी योगसाधकहरुमा उत्साह थपेको विषयमा आफ्नो धारणा राख्दै पातञ्जल योग समितिको यो राष्ट्रिय अभियानमा आवद्धताको लागि सम्पूर्ण कास्की जिल्लाबासीहरु समक्ष आहवान गर्नु भएको छ ।
कार्यक्रमकैबीच गण्डकी मेडिकल कलेजका प्रध्यापक डा। रविन्द्र प्रसाद श्रेष्ठ, गीता मन्दिर योग केन्द्रका संस्थापक डा। कृष्ण केसी, शिविर कार्यक्रमका संयोजक एवं योग प्रशिक्षक सुरेश श्रेष्ठ, स्थानीय समाजसेवी एवं योग प्रशिक्षक रविन्द्र माकाजु लगायतका वक्ताहरुले योगको उद्गम थलो नेपाल रहेकोले विभिन्न कालखण्डमा योगलाई विस्तार गर्न महत्वपूर्ण योगदान दिनुहुने नेपाली योगज्ञाताहरुको पहिचान गरि अघि बढ्न पातञ्जल योग समिति नेपाललाई आहवान गर्दै योगलाई दैनिक जीवनशैली बनाउनु पर्नेमा विशेष जोड दिनु भयो ।
पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्यद्धय दिर्घराज गिरी र योग प्रसाद आचार्यको प्रशिक्षणमा सम्पन्न हुँने उक्त शिविरमा ४०० जना भन्दा बढिको सहभागीता रहेको पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य प्रदिप कुमार श्रेष्ठले जानाकारी गराउनु भएको छ ।