अध्यक्षद्वय ओली र प्रचण्डद्वारा अधिकारीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, १९ फागुन । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अधिकारीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । अधिकारीको सम्मानमा मिनेट मौनधारण समेत गरिएको थियो । अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

‘आफ्नो गाउँ आफैं बनाऔं’का नायक भरतमोहन अधिकारीको पार्थिव शरीर यतिबेला नेकपा पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीका लागी राखिएको छ । गए राती अधिकारीको ८२ वर्षको उमेरमा ह्याम्स हस्पिटलमा निधन भएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

नेकपाले नेता भरतमोहन अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । साथै यही फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णयसमेत नेकपाले गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com