देशभर शिवरात्री धुमधामका साथ मनाइँदै : लागुपदार्थ सेवन गर्न निषेध

काठमाडौँ, २० फागुन । आज महाशिवरात्री पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर धुमधामका साथ मनाइँदैछ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

पशुपतिमा दर्शनका लागि बिहानैदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको छ । यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

शिवरात्री पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी देश भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको छ । पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको छ । दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप, वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा एकसय संस्थाले निस्शुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ ।

गएको वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गर्ने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com