सरकारको जनमूखी कार्य : नेपालबाट जापान कामदार लैजान मार्च महिनाभित्रै सम्झौता हुने

काठमाडौँ, २१ फागुन । नेपालबाट जापानमा कामदार लैजान यहि मार्च महिनाभित्रै समझदारी गर्ने प्रयास भइरहेको छ ।

नेपाल सरकारले जापान रोजगारीको लागि लैजाने प्रकृया अघि बढाएसँगै भाषा कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटले ठगी गर्ने क्रम शुरु भएकाले सरकारले जापानसँगै भाषा परिक्षाको लागि आवश्यक कोर्ष स्पष्ट तोक्नको लागि आग्रह गरेको छ ।

जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा लैजाने उल्लेख छ । हाल जापान पढ्न जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गर्छन् ।

हाल नेपाल र जापान सरकारले कामदार लैजानेबारे श्रम समझदारीका लागि मस्यौदा आदान-प्रदान भइरहेको छ । जसमा जापानले आफ्ना चासोका विषय राखेर प्रस्ताव गरेको छ भने नेपालले पनि कामदारको हितलाई केन्द्रमा राखेर विभिन्न व्यवस्थाहरु गर्न प्रस्ताव गरेको छ ।

हाल दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, लागत लगायतका विषयमा ‘नेगोसियसन’मा छन् । दुई देशबीच सरकारी संयन्त्रमार्फत नै कामदार जान पठाउने सहमति भइसकेको छ । गत जनवरीमा काठमाडौंमा भएको नेपाल-जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको प्रस्तावमाथि जापानले सहमति जनाएको हो ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागत सहितका विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com