१०९औं अन्तर्राष्ट्रिय महिला दिवस : ‘अपाङ्गता महिलामाथि हुने विभेदको खाडल पुरिएन’

काठमाडौँ, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवस १०९ औं दिवश मनाइरहँदा अपाङ्गता भएका महिलाहरुमा हुने विभेदको खाडल नपुरिएको गुनासो गरेका छन् ।

नेपाल अपाङ्ग महिला सङ्घले ‘अपाङ्गता भएका महिलाको विकास प्रक्रियामा मुल प्रवाहीकरणमा विद्यमान अवरोध’ विषयक कार्यक्रममा सङ्घका अध्यक्ष निर्मला धितालले महिलामाथि विभेद भएकोले विभेद हटाउनकै लागि ८ मार्च मनाउने गरिन्छ तर अपाङ्गता भएका महिलामाथि त झन् सबै प्रकारका भेदभाव जारी रहेको बताउनुभयो ।

यस वर्षको नारा नै समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने तय गरिएको छ । अपाङ्गता भएका महिलाको सन्दर्भमा त्यस नारा सार्थक बनाउन सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे झकझकाउनका लागि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घका सचिव ठाकुर भण्डारीले वि.स. २०५२ सालमा महासङ्घको विधान बनाउदा नै महिलाको ५१ प्रतिसत सहभागिता,अपाङ्गता भएका व्यक्ति र दलित, मधेसीलगायत सबै क्षेत्र वर्ग लिङ्गलाई समेटेको बताउनुभयो ।

वन, वन्यजन्तु, राष्ट्रिय निकुञ्जलगायतका कतिपय ऐन अझै पनि सेनाले परिचालन गरिरहेको बेलामा महासङ्घले भने सबै प्रकारका विभेद हटाउन विधानमार्फत पहल थालेको बताउनुभयो ।

सो अवसरमा गैरसहकारी संस्था महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जसको सवाल उसको नेतृत्वका लागि उत्पादनसँग जोडिएको सिपकौशलसहितको रोजगारीतर्फ पनि जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले आरक्षणबाट पछि परेका समुदाय, वर्गको प्रतिनिधित्व अवश्य हुन्छन्, तर आफुमा दक्षताको विकास गर्दै अगाडि बढ्नु सबैभन्दा बढि उपयुक्त हुन्छ । महासङ्घमा पनि अपाङ्गता भएका व्यक्तिलगायतलाई रोजगारीसँग जोड्ने लक्ष्य लिएसँग रोजगारी पनि पाएका छन् । अहिले पनि आइटी सम्वन्धी ज्ञान भएका त्यस्ता व्यक्ति छन् भने एउटा पद खाली रहेको छ भन्दै सरोकारवालाले सम्पर्क राख्न पनि आब्हान गर्नुभयो । उहाँले सशक्तिकरणका लागि दक्षता, सिप र शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

युवा नेता जगदीसकुमार ऐयरले छलफल कार्यक्रममा विचार व्यक्त गर्दै विकासको आधार युवा हुन्, भेदभावको अन्त्य नभए विकास प्रभावित हुन्छन् । समतामुलक समाज विकास लागि पनि विभेद हट्नुपर्छ त्यसका लागि युवाको नाताले आफुले सधैं आवाज उठाईरहेको बताउनुभयो ।

त्यसैगरी दलित गैरसरकारी महासङ्घका भक्त विश्वकर्माले आरक्षणलाई खुम्च्याउँदै ४५ प्रतिसतमा झारेको, त्यो पनि सम्वन्धीत वर्गलाई भाग लगाउँदै जादा ३ प्रतिसत भागमा पर्ने र विभिन्न क्लजहरू लगाएर पिछडिएको वर्ग कहिलेपनि माथिल्लो पदसम्म पुग्न नसक्ने वातावरण बनाएको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महासङ्घका सुदर्शन सुवेदीले समानताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै निरन्तरको प्रयासले केही राम्रो भएपनि अझै सङ्घर्ष गर्नुपर्ने अवस्था छ भन्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com