कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनुपर्छ : सांसद बस्नेत
काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनु पर्न बताउदै सरकारले केही गरेन भन्नेले भक्तपुर आएर हेर्न चुनौती दिनु भएको छ ।
सोमबार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुमा निर्वाचन क्षेत्र विकास कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गतको फुटशल ग्राउण्डको शिलान्यास गर्दै उहाँले विकासमा भक्तपुरको मुहार फेरिरहेको बताउनुभयो । उहाँले आफु निर्वाचित भएपश्चात भक्तपुरमा बाटो नभएको ठाउँमा बाटो बनेको, कच्ची बाटो भएको ठाउँमा ग्राभेल भएको र ग्राभेल बाटो भएको ठाउँमा पिच बाटो बनेको र कतिपय पन्ने प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
गरे केही असम्भव छैन भन्दै सांसद बस्नेतले पूर्वाधार विकास कोष अन्तर्गत सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा गरी करिव २० वटा कामहरु तिव्र गतिमा अघि बढेको जानकारी गराउनुभयो । उहाँले संसद विकास कोष र पूर्वाधार कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारीमा ८ वटा कामहरु भइरहेको जसमध्येको एक फुटशल भएको जानकारी गराउनुभयो ।
स्थानीयवासीको सहयोग नै भक्तपुर विकास सम्भव भएको भन्दै सांसद बस्नेतले भक्तपुरमा स्मार्ट सिटी, प्राणी उद्यान, अन्तर्राष्ट्रिय रंगशाला, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु तिव्र रुपमा काम अघि बढिरहेको बताउनुभयो । उहाँले भक्तपुरलाई सामान्य विकास मात्र नभई विश्वभरिका मानिसको आकर्षणका रुपमा र मर्निङ वाल्कका रुपमा विकास गराउने समेत बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका कार्यहरु तिव्र गतिमा अघि बढिरहेको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडक निर्माणको लागि भक्तपुरमा अरवौं रकम प्राप्त भएको जानकारी गराउनुभयो । उहाँले यो वर्ष सडक निर्माणको लागि मात्र करिब तीन अर्व रुपैंया ल्याउन सफल भएको बताउँदै यो वर्ष भक्तपुरमा २० किमी भन्दा बढी सडक पिच हुँदै गरेको र हनुमन्ते नदीमा ६ किमी कोरिडोर निर्माण प्रकृयामा रहेको जानकारी गराउनुभयो ।
गुण्डुको वडा कार्यालय जाने चोकमा सामुदायीक भवन निर्माणको कार्य अघि बढेको जसमा तीन वटा कोठा नेपाल प्रहरीलाई प्रदान गर्ने र बाँकी तीन वटा खानेपानी उपभोक्ता समितिलाई प्रदान गर्ने समेत जानकारी गराउनुभयो । त्यस्तै उहाँले खेर गएको ठाउँहरुलाई मानवीय आवश्यकता अनुसार खेलमैदान, पार्क, सामुदायीक भवन लगायतका काम गर्ने समेत जानकारी गराउनुभयो ।
वर्तमान सरकारले पानीजहाज, रेल, योगदानमा आधारित सामाजिक सुरक्षा, रोजगारीको ग्यारेन्टी, एयरपोर्टहरुको निर्माण, विकृति र विसंगती हटाने कार्यहरु द्रसत गतिमा अघि बढेको बताउँदै उहाँले वर्तमान सरकारले पहिलेका सरकारले ध्वस्त बनाएको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउन सफल भएको र आगामी वर्षहरुमा जनतामा उत्साह आउने प्रकारको हुने बताउनुभयो ।
देशमा आयात बढेको नभई लुकाइ छिपाई गरिने कार्यलाई कडाई गरेको भन्दै उहाँले पाँच हजार पर्ने सामानलाई एक हजार भन्सार ठगी ल्याउने गरेको र त्यसलाई जती मूल्य हो त्यती नै राजश्व लिने गरेका कारण राजश्वमा १४ प्रतिशतले वृद्धि भएको स्पष्ट पार्नुभयो । उहाँले कर्मचारीसँगको मिलेमतोमा राजश्व/भन्सारमा ठगी गर्ने गरेको र अहिले त्यसलाई राजश्व अनुसन्धान विभागले कडाई गरेपछि धेरै कर्मचारी चेल जानुपर्ने वातावरण सिर्जना भएको समेत बताउनुभयो ।
उहाँले वर्तमान सरकारले केही गरेन भनी अनावश्यक हल्ला फैलाउनेहरुलाई भक्तपुरको विकास आएर हेरी अनि विकासको बारेमा विश्लेषण गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनुपर्छ, नेकपाको सरकार र केपी ओलीले के गरे भनेर भन्ने मान्छेले भक्तपुर आएर हेरे हुन्छ, महेश बस्नेतलाई हेरे हुन्छ । नेकपाले गर्ने भनेको नै भक्तपुरमा भइरहेको गतिविधि जस्तै हो, केपी ओलीले गर्ने पनि त्यही हो ।’
कसैको हल्लाको पछि नलाग्न सवै नागरिकलाई आग्रह गर्दै उहाँले राष्ट्रिय राजनीतिमा फैलाईएका अनावश्यक भ्रमहरुले संकाको घेरामा लाने गरे ता पनि मुलुकको स्थितीरता, सहमतिको विरुद्ध योजनावद्ध चलखेल गर्ने गरेको बताउनुभयो । वर्तमान सरकारले दिर्घकालिन योजनाका साथ काम अघि बढाइरहेको र प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने अभियानलाई असफल बनाउन मुलुकको हित नचाहनेहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नै चलखेल भइरहेको बताउनुभयो ।
पृथकतावादी आन्दोलन गरिरहेका सिक राउतलाई राज्यको मुल धारमा ल्याउन प्रधानमन्त्री केपी ओलीले सफल हुनु भएको बताउँदै उहााले सिकेको वारेमा अनावश्यक स्याल हुँइया भइरहेको समेत बताउनुभयो । उहाँले सिक र विप्लपको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई उचाली डलर पचाउने केही शक्तिलाई निद हराम भएको बताउँदै गलत ढंगले प्रचार गर्न केही मिडिया, बुद्धिजीवि, आफुलाई कठित राष्ट्रवाद र मानवअधिकारवादको खोल ओडेका व्यक्तिहरु लागि परेको जानकारी गराउनुभयो ।
कतिपय पार्टी भित्रकै नेताहरु पनि आफुले ठूलो पद नपाएको, राम्रो भूमिका नपाएको असन्तुष्टि व्यक्त गर्ने प्रकारले लागि परिरहेको, जसको लागि आम नागरिक सचेत हुनुपर्ने बताउँदै उहाँले लोकतान्त्रीक र शान्तिपूर्ण विधिबाट मधेसमा भएका समस्यालाई जनअभिमतबाट समाधान गर्ने भनि सरकार र सिके राउतसँग भएको सम्झौताको बुँदा नं. २ मा भनिएको तर जनमत संग्रहको माध्यमबाट गर्ने भनि अनावश्यक हल्ला फिजाई प्रचारबाजी मात्र गर्ने कार्य भएको भन्दै दुःखेसो व्यक्त गर्नुभयो ।
उहाँले संविधानले नै मुलुकको स्वाधिनत, राष्ट्रिय अखण्डताका विरुद्ध कही कतै पनि जनमत संग्रह गर्न पाइदैन भनि स्पष्ट रुपमा नै लेखेको र सोही अनुसार अघि बढिरहेको बताउनुभयो । सिकेले राज्यसँग भएका सम्झौता शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताउँदै उहाँले सिकेले जालसाँजी तथा सम्झौताको गलत प्रयोग गरी अघि बढेमा उनकै लागि ठूलो घातक हुने चेतावनी समेत दिनुभयो ।
५० लाख लागतमा निर्माण कार्य शुरु गरिएको उक्त फुटशल ग्राउण्ड आगामी दुई महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।